युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन महिनाभित्र श्रम क्षेत्रलाई पूर्ण रुपमा व्यवस्थित गर्ने दाबी गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो । पछिल्लो तीन महिनामा वैदेशिक रोजगार र श्रम निरीक्षणको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो । मन्त्री यादवकाअनुसार देशका ११ वटा श्रम कार्यालयमार्फत भइरहेको श्रम निरीक्षणको कार्यमा ५९ प्रतिशतले वृद्धि भएको छ । आफ्नो कार्यभार सम्हाल्नुअघिको ९ महिनामा १ हजार ९ सय ९१ वटा निरीक्षण भएकोमा, पछिल्लो तीन महिनामा मात्रै १ हजार ३२१ वटा निरीक्षण सम्पन्न भएको उहाँले बताउनु भयो ।
वर्तमान श्रम ऐनले निरीक्षणका क्रममा ‘हार्ड स्किल्स’ भन्दा ‘सफ्ट स्किल्स’ (सचेतीकरण र भरपाई) मा जोड दिएकाले सोहीअनुसार काम भइरहेको मन्त्रीले स्पष्ट पार्नुभयो । यस अवधिमा आन्तरिक श्रम बजारका विभिन्न प्रतिष्ठानहरूबाट श्रमिकहरूलाई ४ करोड १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन मन्त्रालय सफल भएको उहाँले उल्लेख गर्नुभयो ।
वैदेशिक रोजगारको क्षेत्रमा भएको ठगी नियन्त्रण र क्षतिपूर्ति भराउने कार्यमा ठूलो उपलब्धि हासिल भएको मन्त्री यादवको भनाइ छ । यस्तै, मुद्दा अनुसन्धान र फस्र्यौटको दरमा पनि २४२ प्रतिशतले सुधार आएको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगार विभाग काठमाडौंमा मात्र केन्द्रित हुँदा ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका र जान चाहने नागरिकलाई सेवा दिन चुनौतीपूर्ण रहेको मन्त्रीले स्वीकार गर्नुभयो । दैनिक करिव ५० वटा ठगीका मुद्दा दर्ता हुने र महिनामा करिव ५ सय पक्राउ पुर्जी जारी हुने गरे पनि हाल महिनामा ७० देखि ७१ जनालाई मात्र नियन्त्रणमा लिन सकिएको उहाँले बताउनु भयो । यो समस्या समाधानका लागि अन्तर–मन्त्रालय समन्वय आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको उहाँको भनाइ छ । मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्णतः डिजिटल बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल