पार्टी नेतृत्व परिवर्तनबारे महेश बर्तौलाको टिप्पणी–कसैको इच्छा पूरा गर्ने ढंगले एमाले अघि बढ्दैन

.

नेकपा (एमाले)का केन्द्रिय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरुलाई अस्वीकार गर्न नमिल्ने भन्दै महाधिवेशनमार्फत निर्वाचित नेतृत्वको विषयमा विवाद सिर्जना गर्नुको औचित्य नरहेको टिप्पणी गर्नुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीको नेतृत्व ११ औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताउनु भयो । उहाँले नेतृत्व चयन पार्टीको स्थापित वैधानिक संरचना, विधि र अभ्यासअनुसार हुने भन्दै महाधिवेशनबाट भएका निर्णयलाई व्यक्तिगत चाहना वा असन्तुष्टिका आधारमा मान्दिनँ भन्न नपाइने बताउनु भयो । उहाँले पार्टीभित्र देखिएका अन्तरविरोधहरु हटाएर केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको समेत बताउनु भयो । कसैको व्यक्तिगत इच्छाअनुसार पार्टीले कुनै निर्णय नगर्ने उहाँको भनाइ छ । यद्धपी निर्वाचनमा अनपेक्षित नतिजा कसरी आयो भन्ने विषयमा आवश्यक छलफल र समिक्षा गर्न सकिने बर्तौलाको भनाइ छ । नेतृत्वको आलोचना गरेर लोकप्रिय बन्न सकिन्छ भन्ने मनसायले पार्टीका केही पदाधिकारीहरु उद्वेलित भइरहेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो,‘पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुनै विवाद नै छैन । अस्ति भर्खरै मात्र हाम्रो पार्टीको ११ औँ महाधिवेशनले पार्टीको विधानको पक्षमा फैसला गर्यौैँ । त्यसकारण कम्युनिष्ट पार्टीहरुभित्रै नेतृत्व निर्माणको एउटा आफ्नै वैधानिक संरचाना, विधि र अभ्यासहरु छ । त्यो वैधानिक विधि, अभ्यास र संरचनामार्फत गरिएका फैसलाहरुलाई अस्वीकार गर्ने भन्ने कुरा कसैलाई मन पर्छ कि पर्दैन भन्ने कुराबाट निर्देशित हुन सक्दैन । त्यसकारण महाधिवेशनले जुन फैसला गरेको छ त्यही फैसलाको जगबाट पार्टीलाई एकता बनाउने हो । विधान महाधिवेशनले निदृष्ट गरेको वैधानिक प्रवन्धहरुभित्र बसेर नै पार्टीका समग्र नीति र कार्यक्रमहरु अगाडि बढाउने हो । त्यसकारण म फेरी पनि भन्न चाहन्छु । बहकाउमा लागेर होइन, कसलाई के इच्छा छ ? कसैको इच्छा पुरा गरिदिने ढंगबाट एमालेले आफ्ना निर्णयहरु अगाडि बढाउँदैन । छलफलहरु हुनसक्छ । फागुन २१ को निर्वाचनमा जुन खालको अनपेक्षित परिणाम प्राप्त भयो यसपछि पार्टीभित्र केही बहसहरु सिर्जना भएको हामीले सुनेका छौँ । विशेषगरी पदाधिकारी तहमा पनि र केही  केही साथिहरुले नेतृत्वको बढी आलोचना गरेर टिप्पणीहरु दिइरहनुभएको छ । नेतृत्वको आलोचना गर्दा अलि धेरै लोकप्रिय हुन सकिन्छ कि भन्ने ढंगबाट पनि साथिहरुले उद्धेलित भइरहेको देखिन्छ । तर एमालेको जुनसुकै तहका नेता कार्यकर्ताले के बुझ्नुपर्छ भने पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरुलाई अस्वीकार गर्न सक्दैनौँ ।’
पार्टीका सबै तहका पार्टीको नेता–कार्यकर्ताले वैधानिक संरचनाबाट भएका निर्णयको सम्मान गर्दै पार्टीलाई मजबुत बनाउने दिशामा अद्धि बढ्नुपर्नेमा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल