गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ

.

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भुमिका र जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रशारण लाइन, सिंचाई र सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले गुणस्तरीय, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठकाअनुसार जलविद्युत उत्पादनको विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रशारण सञ्जालको सुदृढीकरण, सिंचाई प्रणालीको आधुनिकीकरण र डिजिटल पूर्वाधारको विकास सरकारको रणनीतिक सोचका प्रतिफल हुन् । उहाँले परियोजनाहरूको सफलतालाई अब बजेट खर्चको तथ्याङ्कले मात्र नभई समयमै सम्पन्न भएको, लागत अनुशासन कायम गरिएको र नागरिकले प्राप्त गरेको प्रत्यक्ष लाभका आधारमा मापन गरिने नयाँ नीति अघि सारिएको जानकारी दिनुभयो । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको सुनाउँदै उहाँले क्षेत्रीय विद्युत व्यापार र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सडक, पुल, जलविद्युत, प्रशारण लाइन, सिंचाई, खानेपानी, भवन, सूचना प्रविधिलगायत आधुनिक पूर्वाधारको विकाससँगै देशको समृद्धिको आधार निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा छ । हामी अहिले पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरिरहेका छौँ । सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको विषय म यहाँ स्मरण गराउन चाहन्छु । जलविद्युत उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रशारण सञ्जाल सुदृढीकरण, सिंचाई प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षाको सुनिश्चितता, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासका कार्यक्रमहरू यही सोचका प्रतिफल हुन् । सरकार निर्माणसँगै गुणस्तरलाई केन्द्रमा राख्ने नीतिमा प्रतिवद्ध छ । अब परियोजनाको सफलता केवल बजेट खर्चका आधारमा होइन, समयमै सम्पन्न हुने, लागत अनुशासन कायम गर्ने र नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने परिणामका आधारमा पनि मापन गरिनेछ । त्यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको विषय म स्मरण गराउन चाहन्छु । हामी ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइरहेका छौँ । जलविद्युत उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत व्यापार, नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक रहनेछ भन्ने हाम्रो विश्वास छ । पूर्वाधार केवल कङ्क्रिट, फलाम र सिमेन्टको संरचना मात्र होइन, यो आर्थिक विकास, सामाजिक न्याय, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार्ने महत्वपूर्ण माध्यम पनि हो ।’
पूर्वाधार विकासलाई भौतिक संरचनाका रूपमा मात्र नभई सामाजिक न्याय र आर्थिक समृद्धिको माध्यमका रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल