एमालेमाथि लगाइएका आरोप प्रमाणित गर्न महासचिव पोखरेलको चुनौती

.

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गर्नुभएको हो । उहाँले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको उल्लेख गर्नुभयो । आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ ? महासचिव पोखरेलको प्रश्न छ । कतिपय विषयमा नीतिगत निर्णय मात्र भएका र कतिपयमा नीति निर्माणको प्रक्रिया पनि शुरु नभएको विषयमा पार्टीमाथि बद्नाम गरिएको बताउनु भयो । पैसाको कारोबार नै नभएको विषयमा भ्रष्टाचार भयो भन्नु निराधार रहेको उहाँको दाबी छ । महासचिव पोखरेलले हाल एमाले सरकारमा नरहेको अवस्थामा सरकारले ती आरोपहरू पुष्टि गरेर देखाउनुपर्ने बताउनु भयो ।
राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई दुःख दिने काम भइरहेको भन्दै उहाँले विगतका घटनाहरूको स्मरण गराउनु भयो । पार्टी अध्यक्षलाई १३ दिन र उपाध्यक्ष विष्णु पौडेललाई २५ दिन हिरासतमा राख्दा पनि कुनै प्रमाण जुटाउन नसकेको र मुद्दा दर्ता गर्न नसकेको उहाँको जिकिर छ ।
महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले गल्ती गरेका कारण होइन, राजनीतिक आरोपका कारण बदनाम हुने प्रयास भएको हो । आरोप धेरै लगाइए पनि प्रमाणित हुन सकेका छैनन् । अहिले सरकार उनीहरूकै भएकाले यदि प्रमाण छ भने कानुनी कारबाही गरेर देखाउन सक्नुपर्छ । जहाँ आर्थिक लेनदेन नै भएको छैन, त्यहाँ भ्रष्टाचारको आरोप टिक्दैन । हाम्रा नेता–कार्यकर्तामा व्यक्तिगत कमजोरी हुन सक्छन् तर समग्रमा नेकपा एमाले इमानदार कार्यकर्ता भएको पार्टी हो भन्नेमा विश्वस्त हुनुपर्छ । हामी सरकारमा नभएकाले पनि कसैसँग प्रमाण भए कानूनअनुसार कारबाही गर्न सकिन्छ । प्रतिशोधका लागि केही समय हिरासतमा राख्नु प्रमाण होइन । हाम्रा अध्यक्ष र उपाध्यक्ष विष्णु पौडेललाई पनि हिरासतमा राखिए, तर आरोप प्रमाणित हुन सकेन । जसले गल्ती गरेको छ, उसले कानूनअनुसार सजाय पाउनुपर्छ भन्नेमा हाम्रो कुनै आपत्ति छैन । त्यसैले सुशासन र जवाफदेहिताको विषयमा नेकपा एमालेले गर्वका साथ जनतासामु उभिन सक्छ र यही सन्देश जनतामाझ पु¥याउनुपर्छ ।’
नेपालका राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा बढी इमान्दार नेता र कार्यकर्ता रहेको दाबी गर्दै महासचिव पोखरेलले सुशासनको प्रश्नमा आफ्नो पार्टी जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको बताउनु भयो । महासचिव पोखरेलले एमाले कार्यकर्ताहरूलाई पार्टीको स्वच्छ छवि र सुशासनप्रतिको प्रतिवद्धता लिएर जनतामाझ जान समेत आग्रह गर्नभयो ।–न्युज एजेन्सी नेपाल