साउन १५ः वर्षाको सुवास, खेतको थकान र खीरको मिठास (फोटो फिचर)

.

असारको हिलो–मैलो सकिएपछि वर्षाको मध्यभाग साउन १५ मा नेपाली समाजले खीर खाने पर्व हर्षोल्लासका साथ मनाउँछ । कृषकले मानो रोपेर मुरी उब्जाउने कठिन कार्य सम्पन्न गरेपछि शरीरलाई ऊर्जा, मनलाई सन्तोष र आत्मालाई आनन्द दिलाउन दुध, चामल, काजु, मरिच, चिनी मिश्रित खीर पकाएर भगवानलाई अर्पण गरी आपसमा बाँडेर खाने मौलिक परम्परा रहँदै आएको छ ।
असारको थकान मेटाउन, वर्षाको यो छालमा ।
दुध र चामल पाक्दैछ आज, गाउँ घर र शहरमा ।।
हरियो पाखा, टल्किने धान, हिलो पुछ्दै हातले ।
साउने १५ मनाउँछ देश, खीरको मीठो बास्नाले ।। 

नेपाली साहित्यमा साउन महिनालाई हरियाली, विरह, भक्ति र उमङ्गको प्रतीक मानिन्छ । असारे गीतको भाका गुन्जाएर थाकेका कृषकका हत्केलाहरूले साउन १५ मा सुगन्धित खीरको कचौरा समात्दा त्यसमा केवल भोजन मात्र हुँदैन, प्रकृतिको वरदान र आमाको ममता सल्बलाएको हुन्छ । नेपाली संस्कृतिमा असार १५ मा दही–चिउरा खाने र साउन १५ मा खीर खाने स्थापित परम्परा छ । चेलीबेटीहरूलाई माइत बोलाएर वा दाजुभाई तथा इष्टमित्र जम्मा भई खीर खुवाउने चलनले सामाजिक सद्भाव, पारिवारिक आत्मीयता र सम्बन्धको मिठासलाई मजबुत बनाउँछ । धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान शिव र माता पार्वतीको प्रिय महिना हो । साउन १५ लाई खीर खाने दिनका रूपमा विशेष पूजा–आजा गरी कुलदेवता, पितृ र भगवान शिवलाई खीरको भोग लगाउने परम्परा छ । पुराणहरूमा पनि क्षीर सागर (दुधको समुन्द्र) र भगवान विष्णुको निवासको चर्चा पाइन्छ । जसले खीरको धार्मिक पवित्रतालाई उजागर गर्दछ । आयुर्वेदअनुसार वर्षा ऋतुमा मानव शरीरमा पित्तको सञ्चय हुने र रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ । गाईको शुद्ध दुध, सुगन्धित मरिच, चिनी र चामल मिसाएर पकाइने खीरले शरीरमा त्रिदोष (वात, पित्त, कफ) को सन्तुलन मिलाई शीतल र ऊर्जा प्रदान गर्दछ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल