काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिसकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) केपी शर्मा ओलीकै कार्यकालमा अघि बढाउने काम भएको दाबी गरेका छन्।
दोलखाका माओवादी नेता रितबहादुर खड्काको स्मृतिमा आज पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ मा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री हुँदा एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम भएको बताएका हुन् ।
‘राष्ट्रवादको पाखण्डी प्रचार गरेको हामीले हिजो पनि देखेका छाैँ । एसपीपी हुँदैछ रे, भैसक्यो रे भनेर प्रचार गर्या छ । त्यो बिल्कुल झुटो हो ।’ उनले भने, ‘बरु यो सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ। यो कुरा सबैले बुझ्न जरूरी छ ।’
साथै अध्यक्ष प्रचण्डले एसपीपी सम्झौता अहिले कुनै हालतमा अघि नबढ्ने घोषणा गरेका छन्। ‘म घोषणा गर्न चाहन्छु। त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन। प्रधानमन्त्रीज्युले कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गरिसक्नु भएको छ। कोही भ्रममा पर्नुपर्दैन।’ उनले भने ।