साकेला गाउँपालिकाको फरक शैली

.

खोटाङ -जिल्लाको साकेला गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको टिम वडा–वडामा पुगेर नागरिक भेला गराई वडा स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम सुरु गरेको छ ।

योजना तर्जुमा कार्यक्रममा नागरिककाे सुझाव लिएर उनिहरुको मागहरुलाई सम्बोधन गर्नका लागि अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतनै वडा समितिसँगै वडामा पुगेका हुन् । ‘स्थानीय सरकार जनतासँग’ भन्ने नारासहित अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै नागरिक भेला गराई वडा स्तरीय योजना तर्जुमा कार्यक्रम गोष्ठीमा पुगेका हुन् ।

 

‘कोठामा बसेर बाँडिएको योजना भनेको शासकीय प्रणाली हो’, गाउँपालिका अध्यक्ष राईले भने, ‘एउटा कोठामा बसेर योजना बनाएर बाँड्नु लोकतान्त्रिक प्रणालीमाथि नै ठूलो बेइमान हो । त्यसैले हामी सिंगो गाउँपालिका टिमनै वडामा नागरिक भेला गर्न लगाएर वडा स्तरीय योजना तर्जुमा गोष्ठीमा वडा–वडामा पुगेका हौं ।’

 

‘लोकतन्त्रमा जनता मालिक भन्ने, प्रधान भन्ने र लोकतन्त्रको संस्थागत गर्छु भन्ने चलन छ । तर, व्यवहारमा देखिएन’, गाउँपालिका अध्यक्ष राईले भने, ‘यसलाई हामीले व्यवहारिकताको पाटोमै उतारेका हौं । साकेला सरकार नै जनताको सरकार, सरकारको मालिक जनता हो भन्ने चरितार्थ गर्न खोजेका हौं ।’

 

हालसम्म बाँझे च्यानडाँडा, खिदिमा र मात्तिम दुबै वडामा नागरिक भेलासहितको वडा स्तरीय योजना तर्जुमा कार्यक्रम सकिएको छ । गत वर्षमा वडा समितिको उपस्थितिमा मात्रै योजना तर्जुमा गरेका साकेलावासीले नयाँ सरकार आएसँगै नयाँ कामको अनुभूति गर्न पाएको र यस नयाँ शैलीले साकेला गाउपालिकालाई नमूना गाउपालिका बनाउने विश्वाश गरेको बताएका छन् ।