पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी

.

अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट (डोजर तथा एक्साभेटर) परिचालन गरिएको छ ।
विपद् व्यवस्थापन टोली तथा सडक डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुङ्गा–माटो पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्न युद्धस्तरमा कार्य भइरहेको हो । लगातारको भारी वर्षाले गर्दा देशका विभिन्न भू–भागसँगै सङ्घीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग नराम्ररी प्रभावित भएको छ । मलेखुदेखि मुग्लिङसम्मको सडक खण्डमा लेदोसहितको ठूलो पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो । सडक अवरुद्ध भएसँगै यात्रुहरू बाटोमै अलपत्र परेपछि स्थानीय प्रशासन र सडक डिभिजनले पहिरो सफा गर्ने कार्यलाई तिब्रता दिएका छन् । सडक खुलाउनका लागि विभिन्न संवेदनशील बिन्दुहरूमा डोजर, एक्साभेटर र लोडरसहित १० वटा भारी मेसिनहरू एकैसाथ परिचालन गरिएको छ । निरन्तरको झरी र माथिबाट ढुङ्गा खसिरहने जोखिमका बीच पनि प्राविधिक टोलीले पहिरो पन्छाउने प्रयास जारी राखेको छ । राजमार्गलाई एकतर्फी भएपनि तत्काल सञ्चालनमा ल्याएर रोकिएका सवारी साधन र यात्रुलाई सुरक्षित गन्तव्यतर्फ पठाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभरका विभिन्न नदीनालामा बाढी आउनुका साथै पहाडी भूभागमा पहिरो खस्ने क्रम बढेको छ । पृथ्वी राजमार्ग मात्र नभई अन्य रणनीतिक सडक मार्गहरू समेत अवरुद्ध हुँदा ढुवानी प्रणाली र जनजीवन नराम्ररी प्रभावित भएको छ । सुरक्षा निकाय तथा सडक विभागले अत्यावश्यक कामबाहेक पहिरो जोखिमयुक्त सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई अपिल गरेका छन् । –न्युज एजेन्सी नेपाल