आजबाट शुरु भयो पितृपक्षः देशभरका तीर्थस्थलमा तर्पण र पिण्डदान गर्नेको बाक्लो उपस्थिति

.

आजबाट पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ ।
हिन्दु पञ्चांगअनुसार आश्विन कृष्ण प्रतिपदाका दिनबाट शुरु हुने सोह्रश्राद्धको आज पहिलो दिन हो । काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार र तीर्थस्थलहरूमा आफ्ना दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने श्रद्धालुहरूको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ । सनातन धर्मावलम्बीहरूले सोह्रश्राद्धलाई आफ्ना पितृप्रति श्रद्धा प्रकट गर्ने विशेष पर्वका रूपमा लिने गर्दछन् । ‘यस पक्षमा पितृहरू पृथ्वी लोकमा आउने र आफ्ना सन्ततिबाट तर्पणको अपेक्षा राख्ने गर्दछन्’ भन्ने धार्मिक विश्वास रहिआएको छ । सोह्रश्राद्धको पहिलो दिन प्रतिपदाका अवसरमा दिवंगत भएका पितृहरूको तिथिका आधारमा श्राद्ध गरिन्छ ।
विशेषगरी काठमाडौंको गोकर्णेश्वरमा आज बिहानैदेखि पितृको मोक्षको कामना गर्दै श्राद्ध गर्नेहरूको घुइँचो लागेको छ । कतिपयले घरमै बसेर विधिपूर्वक श्राद्ध गरिरहेका छन् भने कतिपयले नजिकैको नदी वा पवित्र तीर्थस्थलमा पुगेर तर्पण दिने गर्दछन् । शास्त्रीय मान्यताअनुसार यस अवधिमा गरिने श्राद्धले पितृहरू तृप्त हुने र उनीहरूको आशीर्वादले घरपरिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । सोह्रश्राद्धमा आफ्ना पुर्खाको देहावसान भएको तिथिकै दिन श्राद्ध गर्नुपर्ने विधान छ । चाडपर्व नजिकिँदै गर्दा शुरु हुने यो पितृपक्षले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देशसमेत दिने गरेको छ । –न्युज एजेन्सी नेपाल