इन्जिनियरिङ पृष्ठभुमिका सांसदहरूसँग प्रधानमन्त्रीको छलफलः विकास निर्माणको कार्य तीन चरणमा गर्ने प्रणाली लागू गर्ने प्रश्ताव

.

प्रधानमन्त्री बालेन्द्र साहले इन्जिनियरिङ पृष्ठभुमिका सांसदहरूसँग छलफल गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा प्रधानमन्त्री साहले मुलुकको पूर्वाधार विकासको सम्भावना र चुनौति लगायतका विषयमा सबै दलका इन्जिनियरिङ पृष्ठभुमिका सांसदहरूसँग छलफल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले बताउनुभएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद ढकालले पूर्वाधार विकास, प्राकृतिक स्रोतको उपयोग, एकीकृत योजना, जलवायु परिवर्तन, खानी, सार्वजनिक खरिद ऐन तथा डिजिटल गभर्नेन्सलगायत सांसदहरुले सुझाव दिएको बताउनु भयो । उहाँले छलफलमा निश्चित निर्वाचन क्षेत्रभन्दा मुलुकको समग्र विकासको योजनाबारे आफूहरुले सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वाधार निर्माणमा तीन सिफ्टमा काम गर्ने प्रणाली विकास गर्न आफूले प्रश्ताव राखेको बताउनु भयो । ढकालले त्यसका लागि कुनै एक जिल्लालाई नमूना क्षेत्र बनाएर तीन सिफ्टमा काम गर्ने व्यवस्था लागू गर्न सकिने र सफल भए देशभर विस्तार गर्न सकिने सुझाव राखेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘छलफलमा मैले लगभग ६ वटा विभिन्न विषयहरुमा कुरा राखे । पूर्वाधार विकासमा तीन सिफ्टमै काम गर्नुपर्छ भन्ने कुरा राखे । त्यसको लागि  कुनै एउटा जिल्लामा गरेर सफल भएको खण्डमा देशभर लागू गर्न सकिन्छ । जसरी अहिले हामीले विपद्मा काम ग¥यौं । त्यसैगरी सबै क्षेत्रमा तीन सिफ्टमा काम गर्ने भनेर प्रश्ताव राखे ।’
सांसद ढकालले छलफलमा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न तथा सुशासनको विषयमा समेत सुझावहरु राखिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल