काँग्रेस महाधिवेशनमा श्रम संस्कृतिको सन्देशः ‘सत्ताको होइन, कामको प्रतिष्पर्धा गरौँ’

.

श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच अब ‘सत्ताको नभइ कामको प्रतिष्पर्धा’ हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा आईतवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसजस्तो ऐतिहासिक दललाई विगतका त्रुटि सच्याउँदै नयाँ पुस्ताको भावनाअनुरूप रूपान्तरण हुन आह्वान गर्नुभयो । महासचिव राईले काँग्रेस लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि धेरै योद्धाहरूको बलिदानबाट निर्माण भएको पार्टी भएको स्मरण गराउनु भयो । उहाँले काँग्रेसलाई केवल एउटा राजनीतिक दलको रूपमा मात्र नभई नेपाली प्रजातन्त्रको एउटा महत्वपूर्ण अध्यायको रूपमा व्याख्या गर्नुभयो । राईले आफ्नो सम्बोधनका क्रममा विगतमा भएका राजनीतिक गल्तीहरूबाट सिक्दै अबको बाटो रूपान्तरण र राष्ट्र निर्माणको हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज यस महाधिवेशनबाट म एउटा नयाँ सन्देश दिन चाहन्छु । नेपाली काँग्रेसलाई पनि आग्रह गर्न चाहन्छु, अब कुन पार्टीले कति समय सत्ता चलाउने भन्ने प्रतिष्पर्धाभन्दा कुन पार्टीले देशका लागि कति राम्रो काम गर्ने भन्ने विषयमा प्रतिष्पर्धा गर्नुपर्छ । हाम्रा पार्टीका आदरणीय अध्यक्ष हर्क साम्पाङज्यूले पनि भन्दै आउनुभएको छ, अब राजनीतिक प्रतिस्पर्धा सत्ता र पदका लागि मात्र होइन, जनताको हितमा राम्रो काम गर्ने विषयमा हुनुपर्छ । यो भावनाका साथ देशका सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्छ । पुरानो र ऐतिहासिक राजनीतिक दलका रूपमा नेपाली काँग्रेसले पनि यस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ भन्ने मेरो विश्वास छ ।’
उहाँले हालको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सत्ताको आयु लम्ब्याउने प्रतिष्पर्धामा भन्दा जनताको हितमा कसले बढी काम गर्ने भन्ने विषयमा प्रतिष्पर्धा गर्न चुनौती दिनुभयो । –न्युज एजेन्सी नेपाल