पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमको रुपमा नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीको रुपमा हेरिनुपर्ने बताउनुभएको छ ।
आईतवार काठमाडौं आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी विचार संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विगतमा राजनीतिक दल र नेताहरुले गरेको संघर्ष र अनुभवबाट यो कुराको पुष्टि भइसकेको उहाँको भनाइ छ । उहाँले नयाँ पुस्तामा राजनीति र नेतृत्वको सार्वजनिक जीवनप्रति चासोसँगै विभिन्न प्रश्न र असन्तुष्टि समेत देखिएको बताउनु भयो । उहाँले नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको महत्वपूर्ण आवश्यकता भएको पनि बताउनु भयो । उहाँले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एक अर्काका विकल्प नभएको उल्लेख गर्दै दुई पुस्ताको अनुभव र ऊर्जाबीचको उचित संयोजनबाट नै राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन बनाउने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष रुपमा अनुभव गर्न नसकेको पनि बताउनु भयो । उहाँले राजनीतिक इतिहासलाई केवल घटनाहरुको सूचीका रुपमा नभई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्न पोखरेलद्वारा लिखित ‘जीवनी विचार संघर्ष र नेतृत्व’ पुस्तक महत्वपूर्ण हुने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको पुस्ताले विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष अनुभव गरेको छैन । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन त्यसपछिका राजनीतिक परिवर्तन, संसदीय अभ्यास, संविधान सभा र संविधान निर्माणसम्मको यात्रा नयाँ पुस्ताका लागि इतिहासका विषय छन् । तर यी इतिहास कसरी बने, त्यसमा संलग्न व्यक्तिहरुले कस्ता जोखिम र कठिनाइ बेहोरे ? र राजनीतिक परिवर्तनको प्रक्रियाले समाजलाई कसरी प्रभावित गर्यो भन्ने कुरा बुझ्न यस्ता पुस्तक उपयोगी स्रोत बन्न सक्छन् भन्ने मलाई लागेको छ । राजनीतिक इतिहासलाई केवल घटनाहरुको सूचीका रुपमा नभई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्ने प्रयास यस पुस्तकको महत्वपूर्ण पक्ष हो । यसले एक व्यक्तिको राजनीतिक जीवनसँगै एउटा पुस्ताको राजनीतिक अनुभव र सामाजिक राजनीतिक यात्राका महत्वपूर्ण पक्षलाई समेट्ने प्रयास गरेको छ । आज नयाँ पुस्तामा राजनीति र सार्वजनिक जीवनप्रति चासोसँगै विभिन्न प्रश्न र असन्तुष्टि पनि देखिन्छ । राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो भन्ने कुरा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र यात्राबाट बुझ्न सकिन्छ । यस दृष्टिले यस्ता जीवनीले नयाँ पुस्तालाई राजनीति र सार्वजनिक जीवनका जिम्मेवारी बुझ्न उपयोगी सन्दर्भ दिन सक्छ भन्ने मलाई लाग्छ । त्यसैगरी नयाँ र पुरानो पुस्ता बीचको संवाद आजको महत्वपूर्ण आवश्यकता हो । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एक अर्काका विकल्प होइनन् । अनुभव र ऊर्जाबीचको उचित संयोजनबाट नै राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिन्छ ।’
उहाँले अहिलेको पुस्तालाई विगतको राजनीतिक आन्दोलन र संघर्षबारे ज्ञान हस्तान्तरण गर्न अझै धेरै पुस्तकहरु लेखिनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल