नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत परम्परालाई तोड्दै वैचारिक बहसको संस्कृति विकास गर्ने उद्घोष गर्नुभएको छ ।
पार्टीको १५ औँ महाधिवेशनमा बन्द सत्रलाई सोमवार सम्बोधन गर्दै उहाँले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन गुटको विकल्पमा नीतिगत बहस र नागरिकको विश्वास जित्ने संस्कारको खाँचो रहेको बताउनुभएको हो । उपसभापति शर्माले लोकतान्त्रिक पार्टीमा फरक मत र प्रश्नलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै गुटको अन्त्यको अर्थ विचारलाई निषेध गर्नु नभएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन र रोजगारी जस्ता समसामयिक विषयमा व्यापक नीतिगत बहस गरिरहेको उल्लेख गर्नुभयो । शर्माले राजनीतिक संस्कारमा आएको क्षय अचानक नभएको भन्दै यसको उपचारका लागि काँग्रेसले नै नेतृत्व लिनुपर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा फरक विचार र विमति स्वाभाविक हुन्छ । तर परम्परागत गुटको विकल्प नयाँ गुट होइन, विचार र नीतिको राजनीति हो । काँग्रेसभित्र प्रश्न, विमति र बहसलाई निषेध होइन, लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै नीतिगत बहसलाई अझ सशक्त बनाइनेछ । मानसिक स्वास्थ्य, जलवायु, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, प्रविधि, पूर्वाधार, परराष्ट्र नीति, सङ्घीयता र सामाजिक न्यायलगायतका विषयमा नीतिगत बहसलाई निरन्तरता दिइनेछ । लोकतान्त्रिक संस्कृतिमा आएको क्षय अचानक भएको घटना होइन; यसको सुधार पनि तत्काल सम्भव हुँदैन । विगतका अधिकांश राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब लोकतान्त्रिक संस्कृतिको पुनस्र्थापनाको नेतृत्व गर्ने संकल्प गरेको छ । त्यसैले यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको होइन, राजनीतिक संस्कार, संगठन र कार्यशैली परिवर्तनको महाधिवेशन हुनेछ । चुनाव जित्नुभन्दा पहिले नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’
महाधिवेशनको मूल नारा ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल काँग्रेस’ रहेको उल्लेख गर्दै उनले नेतृत्व परिवर्तनसँगै पार्टीको सोच, शैली र चरित्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले चुनाव जित्ने तयारीभन्दा नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माणलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।– न्युज एजेन्सी नेपाल