खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने

.

सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ ।
सो कार्य अघि बढाउन शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको हो । सोमवार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनोट गरिएका २७ वटा क्रिकेट र फुटबल मैदानका साथै कभर्ड हलहरू निर्माण गरिनेछ । पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा गरिएको छ । मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सिमितता रहे पनि २७ वटा महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच हालै एमओयू भएको छ । त्यसअन्तर्गत देशभर २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने योजना अघि बढाइएको छ । देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट शुरु गर्नु महत्वपूर्ण शुरुवात हो ।’
यो परियोजनाले क्षेत्रीय तथा स्थानीय स्तरमा खेलकुदको विकासलाई टेवा पु¥याउने सरकारको दाबी छ । सरकारले आगामी दिनमा थप पूर्वाधारको क्षेत्रमा लगानी विस्तार गर्ने नीति लिएको पनि मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो । अहिले छनोट गरिएका स्थानहरूमा तत्काल काम शुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । –न्युज एजेन्सी नेपाल