संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने

.

संसदीय सुनुवाई समितिले प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाई प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो । संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो । केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाई दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि कुटनीतिक नियोगहरूमा राजदुतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनुवाई छिटो टुंग्याउनुपर्नेमा समिति सहमत भएको हो । छलफलका क्रममा सांसदहरूले सुनुवाई प्रक्रियालाई केवल औपचारिकतामा सिमित नराख्ने प्रतिवद्धता जनाएका छन् । प्रश्तावित राजदुतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औंल्याउँदै समितिले सुनुवाईलाई रचनात्मक बनाउने निर्णय गरेको छ । कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रश्तावित १३ जना राजदुतविरुद्ध ७ वटा उजुरी परेका छन् । २ वटा सबैविरुद्ध परेको छ भने पाँच वटा एक–एक जना व्यक्ति तोकेर परेको छ । समितिले २६, २७ र २८ गते सुनुवाई गर्ने र २९ गते प्रतिवेदन लेखन तथा सिफारिसको काम गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कुटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो । समितिको मंगलवारको बैठकमा प्रश्तावित राजदुत उपर प्राप्त उजुरी खोलिएको र प्रश्तावित राजदुतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गरिएको छ ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदुतमा सिफारिस हुनुभएको छ । यस्तै संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ । यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूत सिफारिस हुनुभएको छ । –न्युज एजेन्सी नेपाल