नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीले पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ, अनुशासित र जनताप्रति थप जवाफदेही बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
बिहीवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पदका उम्मेदवार समेत रहनुभएका गिरीले यस्तो बताउनुभएको हो । पार्टीभित्रको सांगठनिक संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले वर्तमान मुलुकका मुख्य चुनौतीहरू राष्ट्रियताको रक्षा, विकासको गतिलाई तिब्रता दिने र युवा पलायन रोक्ने विषयमा आफू केन्द्रित रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । पपुलिजम र नेतृत्वको विषयमा प्रश्न गर्दा गिरीले लोकतान्त्रिक अभ्यासमा जनताको प्रिय र सक्षम व्यक्ति नै नेतृत्वका लागि योग्य हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टीको जरो भनेको वडा हो । वडा तहदेखि नै संगठनलाई चुस्त दुरुस्त बनाउनु र प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता हो । अघिल्लो पुस्ताका सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउनु नै अहिलेको रूपान्तरण हो ।’
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले शहीदहरूको बलिदानी र काँग्रेसको आदर्शलाई शीरमा राखेर सक्षम नेतृत्व चयन गर्न आह्वान गर्नुभयो । –न्युज एजेन्सी नेपाल