दशैँ–तिहार लक्षित बजार अनुगमनः काठमाडौं महानगरद्वारा बागबजारका पसलमा छापा

.

विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्री नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अनुगमन अभियानलाई तिब्रता दिएको छ ।
सोही क्रममा शुक्रवार महानगरको टोलीले बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक अनुगमन गरेको हो । चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने र सोही मौका छोपी अस्वस्थ प्रतिष्पर्धा गर्ने प्रवृत्तिलाई रोक्न महानगरले अनुगमनको दायरा फराकिलो बनाएको हो । बागबजारका पसलहरूमा पुगेको महानगरको टोलीले खाद्यान्नको गुणस्तर, मूल्य सूची, र म्याद सकिएका सामग्रीहरूको अवस्थाबारे स्थलगत जाँच गरेको थियो । अनुगमनका क्रममा महानगरले व्यापारीहरूलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न र तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन सचेत गराएको छ । चाडपर्वमा उपभोक्ताहरू ठगिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले यस्तो कदम चालेको जनाएको छ । महानगरका अधिकारीहरूकाअनुसार अनुगमन टोलीले विशेषगरी दैनिक उपभोग्य वस्तुको शुद्धता, भण्डारण अवस्था र लेबलमा हुने त्रुटिहरूलाई केन्द्रित गरेको छ । नियमविपरित पाइएका पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने बारम्बार लापरबाही गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । यो अभियान दशैँ, तिहार र छठसम्मै निरन्तर जारी रहने महानगर स्रोतले जनाएको छ । –न्युज एजेन्सी नेपाल