नेपालमा विपद्को जोखिम नयाँ होइन । बाढी, पहिरो, भूकम्प, हिमपहिरो, खडेरी र अन्य प्राकृतिक प्रकोपले विगतदेखि नै जनधनको क्षति पु¥याउँदै आएका छन् । तर पछिल्ला वर्षमा विपद्को प्रकृति, तिब्रता र आवृत्तिमा देखिएका परिवर्तनले जोखिम व्यवस्थापनको परम्परागत दृष्टिकोणमाथि प्रश्न उठाएका छन् । विशेषगरी हिमाली क्षेत्रमा हुने घटनाले नदी बेसिनमा निम्त्याउन सक्ने श्रृङ्खलावद्ध विपद्, मनसुनबाहिर हुने अत्याधिक वर्षा, लामो समयको सुक्खा र तापक्रम वृद्धिका प्रभावले नेपालमा विपद् जोखिम न्युनिकरणलाई अझ जटिल बनाएका छन् । विपद् आएपछि उद्धार र राहतमा केन्द्रित हुने परम्परागत अभ्यासबाट विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, वैज्ञानिक पूर्वसूचना उपलब्ध गराउने, पूर्वतयारी गर्ने र समुदायलाई उत्थानशील बनाउने दिशामा जानुपर्ने आवश्यकता बढेको छ । तर पूर्वसूचना जारी हुनु र त्यो सूचना नागरिकसम्म समयमै पुगेर जीवन रक्षा हुनु एउटै कुरा होइन । त्यसका लागि विज्ञान, राज्यका निकाय, स्थानीय सरकार र समुदायबीच प्रभावकारी सम्बन्ध स्थापित हुनुपर्छ । यस वर्षको अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस अक्टोबर १३ (आज) ‘विपद् उत्थानशीलताको शुरुवात घरबाटै’ भन्ने नाराका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाको सन् १९८९ को निर्णयअनुसार मनाउन थालिएको यो दिवसको सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग विपद्को बदलिँदो प्रकृति, पूर्वसूचना प्रणाली, हिमाली क्षेत्रको जोखिम, घरपरिवारको तयारी र तीन तहका सरकारको जिम्मेवारीबारे गरिएको कुराकानीको सम्पादित अंश ।
प्रश्नः नेपालमा पछिल्ला केही वर्ष यताका घटनालाई हेर्दा विपद्लाई बुझ्ने हाम्रो दृष्टिकोण नै बदल्नुपर्ने हो कि भन्ने देखिन्छ, नेपालमा बाढी, पहिरो र अन्य प्राकृतिक विपद् पहिलेदेखि नै हुँदै आएका हुन् तर अहिले जलवायु परिवर्तनसँगै तिनको प्रकृति, तीव्रता र आवृत्तिमा पनि परिवर्तन भइरहेको छ, यस्तो अवस्थामा हामीले विपद्लाई कसरी बुझ्ने, उद्धार र राहतमा केन्द्रित दृष्टिकोणबाट अनुकूलन, पूर्वतयारी र उत्थानशीलतातर्फ कसरी जान सकिन्छ ?
डा. धर्मराज उप्रेतीः आज हामी विश्वभर अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस मनाउँदै छौँ । तर विपद्को जोखिम पनि बढिरहेको छ । कहिले बाढी, कहिले पहिरो, कहिले हावाहुरी, कहिले शीतलहर, कहिले अत्याधिक गर्मी त कहिले समुन्द्री आँधीका घटनामा परिवर्तन देखिरहेका छौँ । वर्षाको स्वरूप पनि बदलिँदै छ । कहिले धेरै पानी पर्ने, कहिले कम पर्ने र कहिले लामो समयसम्म पानी नै नपर्ने अवस्था छ । हाम्रो देशमा पछिल्ला केही वर्ष यता हिउँदमा पर्याप्त वर्षा नहुने र सुक्खा बढ्ने अवस्था देखिएको छ । तापक्रम वृद्धि हुँदै जाँदा खडेरी, लू र अत्यधिक गर्मीको जोखिम बढ्छ । यसको प्रभाव हिमाली क्षेत्रमा पनि देखिन्छ । तापक्रम बढ्दा हिमाली क्षेत्रमा हुने परिवर्तन, हिमपहिरो र चट्टान खस्ने घटनाले तल्लो तटीय क्षेत्रमा समेत ठूलो जोखिम सिर्जना गर्न सक्छन् । जलवायु परिवर्तनका कारण तापक्रम र वर्षाको स्वरूपमा आएको परिवर्तनले वन, वनस्पति, कृषि, ऊर्जा र मानिसको जीविकोपार्जनमा असर पारिरहेको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिमताल विस्फोटको सम्भावना बढ्न सक्छ । त्यसैगरी, हिउँ पर्ने क्षेत्रमा वर्षा हुँदा माटो र गेग्रान बगाएर तल ल्याउने तथा नदीमा ठूलो बाढी ल्याउने जोखिम पनि हुन्छ । हामीले विपद्को जोखिम, त्यसको तीव्रता र आवृत्तिलाई बुझेर काम गर्नुपर्छ । पछिल्ला वर्षमा मेलम्ची, कञ्चनपुर, मनाङ, मुस्ताङ तथा भोटेकोशी त्रिशूली र बुढीगण्डकी क्षेत्रमा देखिएका घटनाले पनि जोखिमको प्रकृति विविध र जटिल हुँदै गएको देखाउँछन् । त्यसैले विपद् आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित भएर पुग्दैन । विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, आवश्यक तयारी गर्ने र समुदायलाई सुरक्षित बनाउने काम गर्नुपर्छ । उत्थानशील समाज निर्माणका लागि विपद् कुन कारणले आइरहेको छ भन्ने बुझ्नुपर्छ । जोखिम घटाउन घरपरिवार, स्थानीय समुदाय, नागरिक समाज, सञ्चारमाध्यम, विज्ञ, वैज्ञानिक र तीनै तहका सरकारको सहभागिता आवश्यक छ । विपद् कुनै एउटा प्राधिकरण वा मन्त्रालयको मात्र जिम्मेवारी होइन । सबै मिलेर काम गरे मात्र उत्थानशील नेपाल निर्माण गर्न सकिन्छ ।
प्रश्नः विपद् जोखिम न्युनिकरणमा पूर्वसूचना सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो तर विगतका केही घटनाले समयमै सूचना नपुग्दा वा पर्याप्त सूचना उपलब्ध नहुँदा क्षति बढेको देखाएका छन्, बुढीगण्डकीको घटनाको सन्दर्भमा पनि समयमा सूचना दिन नसकिएको कुरा उठेको छ, यस्तो अवस्थामा पूर्वसूचना प्रणालीको कमजोरी कहाँ छ र यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?
डा. धर्मराज उप्रेतीः पूर्वसूचना प्रणाली अत्यन्तै अपरिहार्य छ । यही आवश्यकतालाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घका महासचिवले इजिप्टमा भएको कोप–२७ का क्रममा ‘सबैका लागि पूर्वसूचना प्रणाली’को पहल अघि बढाउनुभएको थियो । सबैका लागि पूर्वसूचना प्रणाली भन्नाले वैज्ञानिकका लागि मात्र सूचना उपलब्ध गराउने भन्ने होइन । किसान, जलविद्युत आयोजना सञ्चालक, बसचालक, स्थानीय सरकार र सडकमा मकै बेचेर जीविकोपार्जन गर्ने व्यक्तिसम्म आवश्यक सूचना पु¥याउने भन्ने हो । भोलि कति गर्मी हुन्छ, कति चिसो हुन्छ, कहाँ ठूलो वर्षा हुन्छ वा कहाँ बाढी आउन सक्छ भन्ने जानकारी सम्बन्धित व्यक्तिले बुझ्ने र उपयोग गर्न सक्ने गरी पु¥याउनुपर्छ । यसका लागि विज्ञान र समुदायबीचको दूरी घटाउनुपर्छ । वैज्ञानिक पूर्वानुमानलाई समुदायले बुझ्ने भाषामा रूपान्तरण गरी समयमै उपलब्ध गराउन आवश्यक छ । हामीले ‘सबैका लागि पूर्वसूचना प्रणाली’को रोडम्याप तयार गरेका छौँ । यसले हिमालदेखि तराईसम्म बदलिँदो जोखिम बुझ्ने र त्यसअनुसार कार्ययोजना बनाउने आधार तयार गर्छ । पूर्वसूचना प्रणालीको प्रभावकारिता सूचना जारी भयो कि भएन भन्ने आधारमा मात्र मापन गर्न मिल्दैन । सूचना सही समयमा सम्बन्धित व्यक्तिसम्म पुग्यो कि पुगेन, उसले सूचना बुझ्यो कि बुझेन र त्यसका आधारमा सुरक्षित कदम चाल्न सक्यो कि सकेन भन्नेकुरा महत्वपूर्ण हुन्छ । केही अध्ययनले २४ घण्टा अगाडि पूर्वसूचना दिन सकिएमा विपद्बाट हुने क्षति उल्लेख्य रूपमा घटाउन सकिने देखाएका छन् । ३५ देखि ४० प्रतिशतसम्म क्षति घटाउन सकिने अनुमान पनि गरिन्छ । यसले पूर्वसूचना प्रणालीमा लगानी गर्नु भनेको जीवन जोगाउनु र ठूलो आर्थिक क्षति रोक्नु हो भन्ने स्पष्ट गर्छ । पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन जोखिमको वैज्ञानिक अध्ययन, सूचना सम्प्रेषण, स्थानीय तहको तयारी र नागरिकले सूचना प्राप्त गरेपछि चाल्नुपर्ने कदमबीच सम्बन्ध स्थापित गर्नुपर्छ । सूचना जारी गर्नु मात्र पर्याप्त हुँदैन, त्यो सम्बन्धित व्यक्तिसम्म समयमा पुग्नुपर्छ र उसले त्यसअनुसार काम गर्न सक्नुपर्छ ।
प्रश्नः मौसमविद्ले भोलि ठूलो वर्षा हुने वा निश्चित मात्रामा वर्षा हुनसक्ने पूर्वानुमान गर्नु एउटा कुरा हो तर सामान्य नागरिकले त्यसबाट आफ्नो जीवनमा के असर पर्छ र के गर्नुपर्छ भन्ने बुझ्नु अर्को कुरा हो, वैज्ञानिक सूचना र नागरिकको व्यवहारबीचको दूरी कसरी घटाउने, किसान, चालक, नदी किनारका बासिन्दा र जोखिमयुक्त क्षेत्रमा काम गर्ने व्यक्तिका लागि फरक–फरक सूचना आवश्यक हुँदैन ?
डा. धर्मराज उप्रेतीः पूर्वसूचना प्रणालीको उद्देश्य विज्ञानदेखि समुदायसम्म सूचना पु¥याउनु हो । वैज्ञानिकले दिएको जानकारी सम्बन्धित व्यक्तिले बुझ्ने र त्यसअनुसार काम गर्न सक्ने हुनुपर्छ । हामीले ‘सबैका लागि पूर्वसूचना प्रणाली’को रोडम्याप तयार गरेका छौँ । यसमा हिमालदेखि तराईसम्म बदलिँदो जोखिम बुझ्ने र त्यसअनुसार कार्ययोजना बनाउने विषय समेटिएको छ । प्रकोपको तिबव्रता, आवृत्ति र सम्भावित प्रभाव बुझेर कार्ययोजना बनाउनुपर्छ । एउटा किसानका लागि मौसमको सूचना कृषि उत्पादनसँग जोडिन्छ । जलविद्युत आयोजना सञ्चालकका लागि नदीको बहाव महत्वपूर्ण हुन्छ । सडकमा सवारी चलाउने चालकका लागि पहिरो वा बाढीले सडक अवरुद्ध गर्नसक्ने जानकारी आवश्यक हुन्छ । नदी किनारमा बस्ने परिवारका लागि पानीको सतह बढ्ने र सुरक्षित स्थानमा जानुपर्ने सूचना महत्वपूर्ण हुन्छ । त्यसैले सूचना उत्पादन गर्ने र सूचना उपयोग गर्ने व्यक्तिबीच सम्बन्ध स्थापित हुनुपर्छ । विज्ञानलाई समुदायसम्म जोड्ने काममा स्थानीय सरकार, सञ्चारमाध्यम, विज्ञ, वैज्ञानिक र नागरिक समाजको भुमिका महत्वपूर्ण छ । सूचना बुझिने भाषामा हुनुका साथै समयमै उपलब्ध हुनुपर्छ । जोखिमको सूचना प्राप्त भएपछि के गर्ने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । यसरी सूचना र कार्यलाई जोड्न सकियो भने मात्र पूर्वसूचना प्रणालीले जीवन रक्षा गर्न सक्छ ।
प्रश्नः पछिल्ला घटनाले हिमाली क्षेत्रमा हुने विपद्को प्रभाव तल्लो तटीय क्षेत्रसम्म फैलिन थालेको देखाएका छन्, चट्टान खस्ने, हिमपहिरो जाने, नदी थुनिने र अस्थायी ताल फुट्ने घटनाले एकपछि अर्को विपद् निम्त्याइरहेका छन्, यस्तो क्यास्केडिङ हाजार्डको जोखिमलाई कसरी बुझ्ने, हाम्रो अनुगमन र प्राविधिक तयारी कत्तिको पर्याप्त छ ?
डा. धर्मराज उप्रेतीः हिमाली क्षेत्रमा तापक्रम वृद्धि र वर्षाको बदलिँदो स्वरूपले जोखिम बढाइरहेको छ । हिउँ पर्ने ठाउँमा पानी पर्नु, पहाडबाट माटो र गेग्रान तल झर्नु तथा नदीमा ठूलो बाढी आउनुजस्ता घटना देखिएका छन् । हिमाली क्षेत्रमा भएको परिवर्तनको असर तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्छ । बुढीगण्डकी, भोटेकोशी र त्रिशूली क्षेत्रमा देखिएका घटनालाई पनि यही व्यापक जोखिमको सन्दर्भमा बुझ्नुपर्छ । हिमपहिरो वा चट्टान खस्दा नदीको बहाव अवरुद्ध हुन सक्छ । त्यसबाट अस्थायी ताल बनेर पछि एकैपटक पानी र गेग्रान तल झर्ने अवस्था आउन सक्छ । त्यस्तो घटनाले सामान्य बाढीभन्दा फरक र ठूलो क्षति पु¥याउन सक्छ । हिमाली क्षेत्रमा जोखिम बढ्दै जाँदा हिमताल विस्फोटको सम्भावनालाई पनि ध्यान दिनुपर्छ । प्राकृतिक वा अन्य कारणले नदीमा पानी थुनिएर बनेको ताल फुटेमा त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा पहिल्यै अध्ययन गर्नुपर्छ । यसैले जोखिमको प्रकृति पहिचान गर्नु महत्वपूर्ण छ । कुनै ठाउँमा बाढीको जोखिम छ कि पहिरोको, हावाहुरीको, अत्यधिक गर्मीको वा चिसोको भन्ने पहिचान गर्नुपर्छ । त्यसपछि जोखिमअनुसार योजना बनाउनुपर्छ । हामी विभिन्न जोखिमका लागि मानक सञ्चालन प्रक्रिया अर्थात् स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी) तयार गर्ने दिशामा काम गरिरहेका छौँ । जोखिम पहिचान भएपछि त्यसअनुसार पूर्वसूचना, पूर्वतयारी र कार्ययोजना लागू गर्न सकियो भने क्षति घटाउन सकिन्छ ।
प्रश्नः नेपालमा विपद् भन्नासाथ प्रायः मनसुनमा हुने बाढी र पहिरो सम्झिने गरिन्छ तर अत्यधिक गर्मी, शीतलहर, खडेरी, डढेलो र मनसुनबाहिर हुने असामान्य वर्षाले पनि ठूलो क्षति पु¥याउन सक्छन्, विशेषगरी सुक्खा हिउँद र खडेरीजस्ता विपद् बिस्तारै विकसित हुन्छन्, यस्ता जोखिमका लागि कस्तो पूर्वतयारी आवश्यक छ ?
डा. धर्मराज उप्रेतीः विपद्को जोखिमलाई मनसुनसँग मात्र जोडेर हेर्न मिल्दैन । हामीले पछिल्ला वर्षमा विभिन्न समयमा र फरक–फरक प्रकृतिका विपद् देखेका छौँ । त्यसैले जोखिमको प्रकृति पहिचान गरेर तयारी गर्नुपर्छ । हामीले प्रत्येक जोखिमका लागि मानक सञ्चालन प्रक्रिया तयार गर्ने दिशामा काम गरिरहेका छौँ । ठूलो गर्मी हुने सम्भावना छ भने पहिले नै के गर्ने, लामो सुक्खा हुने सम्भावना छ भने कसरी तयारी गर्ने र अत्यधिक चिसोको अवस्था आउँदा कृषि, वन, ऊर्जा तथा अन्य क्षेत्रमा कस्ता कदम चाल्ने भन्नेकुरा पहिल्यै निर्धारण गर्नुपर्छ । यसलाई हामी पूर्वानुमानमा आधारित अग्रिम कार्य अर्थात् ‘एन्टिसिपेटरी एक्सन’ भन्छौँ । विपद् आएपछि मात्र प्रतिक्रिया दिनुभन्दा सम्भावित जोखिमका आधारमा पहिले नै तयारी गर्नु यसको मुख्य उद्देश्य हो । उदाहरणका लागि, लामो समयसम्म सुक्खा हुने सम्भावना छ भने कृषि क्षेत्रमा पानीको उपलब्धता र बालीको छनोटबारे तयारी गर्नुपर्छ । वन क्षेत्रमा डढेलोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्छ । जलविद्युत् क्षेत्रमा नदीको बहाव घट्न सक्ने अवस्थालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ । अत्यधिक गर्मी वा शीतलहरको जोखिम भएका क्षेत्रमा स्वास्थ्य तथा समुदायको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । जोखिमको प्रकृति फरक भएपछि त्यसको तयारी पनि फरक हुनुपर्छ । पूर्वानुमानका आधारमा पहिले नै आवश्यक काम गर्न सकियो भने विपद्बाट हुने क्षति घटाउन सकिन्छ । त्यसैले हामीले जोखिम पहिचान, पूर्वसूचना र अग्रिम कार्यलाई जोडेर काम गर्नुपर्छ ।
प्रश्नः पूर्वसूचना उपलब्ध भएपनि नागरिकले त्यसलाई बेवास्ता गर्ने वा जोखिमको गम्भीरता नबुझ्ने अवस्था देखिएको छ, अर्कोतर्फ, सूचना पाएपनि सुरक्षित स्थानमा जाने विकल्प नहुन सक्छ, सामान्य नागरिकले आफ्नो परिवार र समुदायलाई विपद्का लागि कसरी तयार राख्न सक्छन् ?
डा. धर्मराज उप्रेतीः विपद् जोखिम न्युनिकरणका लागि घरपरिवारबाटै उत्थानशीलताको अभियान शुरु गर्नुपर्छ । विपद् प्राधिकरण, गाउँपालिका, नगरपालिका, प्रदेश वा कुनै मन्त्रालयको मात्र जिम्मेवारी हो भनेर बुझ्यौँ भने बढ्दो जोखिमलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिँदैन । घरपरिवारले आफू बसेको स्थानको जोखिम बुझ्नुपर्छ । आफ्नो क्षेत्र बाढी, पहिरो, अत्यधिक गर्मी, चिसो वा अन्य जोखिमबाट प्रभावित हुनसक्छ कि सक्दैन भन्ने जानकारी लिनुपर्छ । जोखिमको सूचना कहाँबाट प्राप्त गर्ने र विपद्का बेला के गर्ने भन्नेबारे परिवारका सदस्यबीच स्पष्ट समझदारी हुनुपर्छ । परिवारले आफ्नो घरको अवस्था र वरपरको वातावरणबारे ध्यान दिनुपर्छ । वर्षाको पानी बग्ने प्राकृतिक निकास अवरुद्ध भएको छ कि छैन, घरनजिक पहिरोको जोखिम छ कि छैन र विपद्का बेला सुरक्षित स्थानमा कसरी पुग्ने भन्नेकुरा बुझ्नुपर्छ । परिवारका सदस्यले विपद्का बेला कहाँ भेटिने, कसलाई खबर गर्ने र आवश्यक पर्दा कुन सुरक्षित स्थानमा जाने भन्ने विषयमा पहिले नै योजना बनाउनु उपयोगी हुन्छ । प्राथमिक उपचारका सामग्री, पिउने पानी, आवश्यक औषधि र महत्वपूर्ण कागजात सुरक्षित राख्ने तयारी पनि गर्न सकिन्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा तत्काल सुरक्षित स्थानमा जान कठिनाइ हुने व्यक्तिको आवश्यकतालाई ध्यान दिनुपर्छ । जोखिमको सूचना आएपछि त्यसलाई बेवास्ता नगरी समयमै सुरक्षित कदम चाल्नु महत्वपूर्ण छ । घरपरिवारबाट शुरु भएको तयारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ । जब घरपरिवार, समुदाय र सरकारबीच सहकार्य हुन्छ, तब विपद् उत्थानशील समाज निर्माण गर्न सकिन्छ ।
प्रश्नः विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ तर विपद् हुँदा सबै जिम्मेवारी केन्द्र सरकार वा प्राधिकरणको मात्र हो भन्ने बुझाइ पनि देखिन्छ, जोखिमको पहिचान, पूर्वतयारी, पूर्वसूचना र उद्धारमा तीन तहका सरकारको जिम्मेवारी कसरी स्पष्ट गर्न सकिन्छ, योजना बनाउने र कार्यान्वयन गर्ने निकायबीच समन्वय कसरी प्रभावकारी बनाउने ?
डा. धर्मराज उप्रेती ः विपद् व्यवस्थापनमा तीनै तहका सरकारको भुमिका महत्वपूर्ण हुन्छ । विपद्को प्रकृति र प्रभावअनुसार जिम्मेवारी स्पष्ट हुनुपर्छ । स्थानीय स्तरको जोखिमलाई स्थानीय तहले बुझ्ने र त्यसअनुसार तयारी गर्ने क्षमता विकास गर्नुपर्छ । प्रदेशले स्थानीय तहहरूबीच समन्वय र आवश्यक सहयोग गर्नुपर्छ । ठूलो राष्ट्रिय संकटको अवस्थामा संघीय सरकारको नेतृत्व र स्रोत परिचालन आवश्यक हुन्छ । विपद्को भूगोल स्थानीय हुन्छ । जोखिमको पहिलो प्रभाव स्थानीय समुदायमा पर्छ । त्यसैले स्थानीय सरकारसँग जोखिमसम्बन्धी जानकारी, पूर्वतयारी योजना, आवश्यक स्रोत र आपत्कालीन समन्वयको व्यवस्था हुनुपर्छ । प्राधिकरणको भुमिका जोखिम न्युनिकरणका लागि नीति, योजना र कार्यविधि निर्माण गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने तथा विभिन्न निकायबीच समन्वय गर्ने हो । तर स्थानीय स्तरमा जोखिमको पहिचान र तयारी प्रभावकारी हुनका लागि स्थानीय सरकारको क्षमता पनि उत्तिकै आवश्यक हुन्छ । हामीले जोखिमअनुसारका कार्ययोजना तयार गर्ने र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेका छौँ । यी योजना कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी र सहकार्य आवश्यक छ । विपद् जोखिम न्युनिकरणलाई कुनै एउटा निकायको मात्र जिम्मेवारी ठान्नु हुँदैन । तीनै तहका सरकार, नागरिक समाज, सञ्चारमाध्यम, वैज्ञानिक, विज्ञ र समुदायले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । सबैले समन्वय गरेर काम गरे मात्र जोखिम घटाउन र उत्थानशील समाज निर्माण गर्न सकिन्छ ।
प्रश्नः तपाईंले सबैका लागि पूर्वसूचना प्रणालीको रोडम्याप र विभिन्न जोखिमका लागि मानक सञ्चालन प्रक्रिया तयार भइरहेको बताउनुभएको छ, तर योजना बनाउनु र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु फरक कुरा हो, यो रोडम्याप कहिलेसम्म कार्यान्वयनमा जान्छ, स्थानीय तहसम्म यसको पहुँच कसरी सुनिश्चित हुन्छ र त्यसको प्रभावकारिता कसरी मापन गरिन्छ ?
डा. धर्मराज उप्रेतीः हामीले सबैका लागि पूर्वसूचना प्रणालीको रोडम्याप तयार गरेका छौँ । यसको उद्देश्य हिमालदेखि तराईसम्म बदलिँदो जोखिम बुझ्ने र विज्ञानदेखि समुदायसम्म सूचना पु¥याउने व्यवस्था विकास गर्नु हो । त्यसैगरी, विभिन्न जोखिमका लागि मानक सञ्चालन प्रक्रिया तयार गर्ने काम भइरहेको छ । कुन क्षेत्रमा बाढी, पहिरो, गर्मी, चिसो वा खडेरीको जोखिम छ भन्ने पहिचानपछि त्यसअनुसार पूर्वतयारी र अग्रिम कार्यको योजना बनाउनुपर्छ । रोडम्याप कार्यान्वयनमा आएपछि सम्बन्धित क्षेत्रका निकायले जोखिमअनुसार तयारी गर्न र आवश्यक सूचना समयमै उपलब्ध गराउन सहयोग पुग्नेछ । यसमा तीनै तहका सरकार, वैज्ञानिक, सञ्चारमाध्यम, नागरिक समाज र स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुन्छ । पूर्वसूचना प्रणाली प्रभावकारी हुनुको अर्थ जोखिमको जानकारी समयमै उपलब्ध हुनु, सम्बन्धित व्यक्तिले सूचना बुझ्नु र त्यसअनुसार आवश्यक कदम चाल्न सक्नु हो । त्यसैले योजना कार्यान्वयनको प्रगति र विपद्बाट हुने मानवीय तथा आर्थिक क्षति घटाउन पुगेको योगदानलाई पनि ध्यान दिनुपर्छ । हाम्रो उद्देश्य जोखिमलाई पहिल्यै बुझ्ने, आवश्यक तयारी गर्ने र त्यसअनुसार कार्ययोजना लागू गर्ने हो । सबैका लागि पूर्वसूचना प्रणालीलाई व्यवहारमा उतार्न सकियो भने विपद्को जोखिम घटाउन र उत्थानशील नेपाल निर्माण गर्न सहयोग पुग्छ ।
प्रश्नः नेपालले विगतका विपद्बाट धेरै अनुभव हासिल गरेको छ, तर हरेक ठूलो घटनापछि उस्तै प्रकृतिका कमजोरी दोहोरिने गरेको छ, अबको दिनमा विपद् जोखिम न्युनिकरणका लागि राज्य, स्थानीय सरकार र नागरिकले सबैभन्दा पहिले के कुरालाई प्राथमिकता दिनुपर्छ?
डा. धर्मराज उप्रेतीः विपद्को जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा यसलाई सम्बोधन गर्न सबैको सहभागिता आवश्यक छ । जोखिम कुन कारणले आइरहेको छ, त्यसको प्रकृति के हो र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्नेकुरा बुझ्नुपर्छ । पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, जोखिमअनुसारका कार्ययोजना तयार गर्ने र आवश्यक तयारी पहिले नै गर्ने काम महत्वपूर्ण छन् । यसमा नागरिक समाज, सञ्चारमाध्यम, विज्ञ, वैज्ञानिक, घरपरिवार र तीनै तहका सरकारको सहभागिता अपरिहार्य छ । सेन्डाई फ्रेमवर्कले समग्र समाजको सहभागितामा जोड दिएको छ । त्यसको मर्मअनुसार सबैले सहकार्य गरेर काम गर्नुपर्छ । विपद् जोखिम न्युनिकरणलाई कुनै एउटा निकायको जिम्मेवारी मात्र ठान्नु हुँदैन । घरघरबाट उत्थानशीलताको अभियान शुरु गर्नुपर्छ । नागरिकले जोखिम बुझ्ने, सूचना प्राप्त गर्ने र आवश्यक कदम चाल्ने क्षमता विकास गर्नुपर्छ । सरकार र सम्बन्धित निकायले त्यसका लागि आवश्यक सूचना, योजना र सहयोग उपलब्ध गराउनुपर्छ । हामीले अहिले नै जोखिमलाई बुझेर कार्यान्वयनमा लैजान सक्यौँ भने भविष्यमा हुनसक्ने क्षति घटाउन सक्छौँ । सबै मिलेर काम गरे मात्र नयाँ र उत्थानशील नेपाल निर्माण गर्न सकिन्छ ।–न्युज एजेन्सी नेपाल