काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र

.

काठमाडौं महानगरपालिकाले सम्यक महादानका लागि तयारी तिब्र पारेको छ ।
महानगरले आगामी माघ १ गते आयोजना गर्न लागेको सम्यक महादान सफल बनाउन ३०१ सदस्यीय मूल समारोह समिति गठन गरि तयारी अगाडी बढाएको हो । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महादान सफल पार्न आवश्यक तयारी थालिएको जानकारी दिनुभयो । उहाँकाअनुसार महादानमा सहभागी हुने दीपङ्कर बुद्धको उपस्थिति सुनिश्चित गरिएको छ । महादानमा सहभागी हुने दीपङ्कर बुद्धका संरक्षक, सम्बन्धित परिवार, समुदाय र गुठीसँग छलफल गरी कार्यक्रममा उपस्थित हुने प्रतिवद्धता लिइएको उहाँले बताउनु भयो । संरक्षकहरूलाई औपचारिक निमन्त्रणा दिने प्रक्रिया अघि बढाइएको र उहाँहरूलाई मूल समारोह समितिको सदस्यका रूपमा मनोनयन समेत गरिएको उहाँले जानकारी दिनुभयो । महादानको तयारीलाई व्यवस्थित बनाउन अभिलेखीकरण, स्थान व्यवस्थापन, पूजा तथा दान, देवता निमन्त्रणा र सांस्कृतिक गतिविधिका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको उहाँले बताउनु भयो । ती उपसमितिका संयोजक तथा सदस्यहरूको मनोनयन गरी आवश्यक छलफलसमेत गरिएको उहाँको भनाइ छ । महादानसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको अभिलेखीकरण गरी पुस्तक प्रकाशन गर्ने तयारी समेत रहेको उहाँले बताउनु भयो । दीपङ्कर बुद्धका संरक्षक परिवार, समुदाय तथा गुठीको आधिकारिक विवरण सहजै उपलब्ध नहुँदा आवश्यक जानकारी संकलनमा समय खर्चिनुपर्ने अवस्था रहेकोले प्राप्त विवरणलाई व्यवस्थित रूपमा अभिलेख गर्न लागिएको उहाँको भनाई छ । अभिलेखीकरणले आगामी पुस्तालाई सम्यक महादानको प्रक्रिया, परम्परा र व्यवस्थापनबारे जानकारी उपलब्ध गराउने र भविष्यमा कार्यक्रम आयोजना गर्दा आवश्यक विवरण खोज्न लाग्ने समयसमेत घटाउने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्यक महादान गर्न धेरै समुदायको महत्वपुर्ण भुमिका हुन्छ । सबैजनालाई नछुटिनेगरी समेट्न सकिनेगरी हामी प्रयासरत छौँ । हामीले मूल समारोह समिति घोषणा गरे लगत्तै हामीले तयारीको काम अगाडी बढाएका छौँ । सम्यक महादानमा सबै भन्दा महत्वपूर्ण भनेको दीपङ्कर बुद्ध कति ल्याउन सक्छौँ, सबैको उपस्थिति हुन्छ कि हुँदैन भन्ने कुरा हुन्छ । यो प्रोग्रामको मुटु भनेकै भगवान भएको कारणले भगवान संरक्षण गरेर दीपङ्कर बुद्धहरू संरक्षण गरेर राखिरहनु भएको विभिन्न परिवारहरू, समुदायहरू, गुठीहरूसँग हामीले गतहप्ता मात्रै बैठक बसेका थियौँ । उहाँहरूबाट हामीले माघ १ गते सम्यक महादानमा उहाँहरूको उपस्थिति हुने कमिटमेन्ट लिसकेका छौँ । प्रशासनिक रूपमा उहाँहरूलाई निमन्त्रणा दिने काम पनि भइसकेको छ । उहाँलाई मूल समारोह समितिको सदस्यका रूपमा हामीले मनोनित पनि गरिसकेका छौँ । भगवानसँगै त्यहाँ विभिन्न पूजा आज्ञा दान देखि लिएर सांस्कृतिक पक्षहरू बाजा कुनै स्पेसिफिक निश्चित बाजा बजाउनै पर्ने भगवानलाई ल्याउनलाई लैजानलाई यस्ता खालका विभिन्न सांस्कृतिक पक्षहरू छन् । ती सँगसँगै अभिलेख गर्न एकदमै जरुरी छ । हामीले जति पनि यो कामहरू गरिरहेका छौँ । डकुमेन्टेसन गरिरहेका छौँ, जसले गर्दा हामीले अन्त्यमा एउटा किताब नै पब्लिश गर्ने छौँ र त्यो किताव चाहीँ सम्यक महादानको प्रोसेसको बारेमा हुनेछ । हामीले अहिले भगवानको संरक्षणहरू को–को हुनुहुन्छ भन्ने आधिकारिक रूपमा लिष्ट कहीं भेटाउन सकेका छैनौ । त्यसको लागि नै कति धेरै रिसर्च गर्नु प¥यो । त्यो रिसर्चहरू गरेर त्यसको डकुमेन्टेसन भएपछि आगामी पुस्ताले पनि आगामी दिनमा फ्युचरमा भविष्यमा कसैले सम्यक महादान गरेमा सहयोग हुन्छ । हामीले ७० प्रतिशत समय खोजतलास गर्नलाई व्यतित गरिरहेका छौँ, त्यो कुरा सर्टकट रूपमा डकुमेन्टेसन भएपछि सजिलो हुने हामीले अपेक्षा लिएका छौँ । त्यसका लागि अभिलेखको छुट्टै उपसमिति, स्थान व्यवस्थापनको छुट्टै समिति, पूजा दानको छुट्टै उपसमिति, देवता निमन्त्रणा दिने छुट्टै उपसमिति, सांस्कृतिक विभिन्न क्रियाकलाप हुन्छ, त्यसको छुट्टै उपसमिति भनेर पनि गठन गरेका छौँ, आज हामीले विभिन्न उपसमितिहरूको संयोजक लगायत सदस्यहरूलाई मनोनयन पनि गरेका छौँ । सम्यक महादान गर्न बजेट पनि ठूलो लाग्छ तर बजेट मात्र सम्पन्न हुने कार्यक्रम पनि हुँदै होइन । यसमा समुदायको एकदमै धेरै महत्वपूर्ण भुमिका हुन्छ । हामीले पुराना अभिलेखहरू खोजेर एउटा लिस्ट त बनायौँ तर त्यसमा पनि कोही छुटेको हुन सक्छ, कसैलाई बिर्सेको अथवा हामीलाई बोलाएन भन्ने लाग्छ भने हामीलाई खबर गर्नुहोला । कहीं छुटफुट भएको हुन सक्छ ।’
उहाँले सम्यक महादान बजेटले मात्र सफल हुने कार्यक्रम नभई समुदायको सहभागिता, सहयोग र सामूहिक प्रयासमा निर्भर रहने बताउनु भयो । उहाँले कार्यक्रमको तयारीदेखि सञ्चालनसम्म विभिन्न समुदाय र सरोकारवालाको सहभागिता सुनिश्चित गर्न महानगरले पहल गरिरहेको जानकारी दिनुभयो । पुराना अभिलेख तथा अनुसन्धानका आधारमा सूची तयार गरिएपनि केही संरक्षक वा समुदाय छुटेको हुनसक्ने भन्दै उहाँले सम्बन्धित सबैलाई महानगरको सभा गृहमा रहेको मूल समारोह समितिको सचिवालयमा सम्पर्क गरी सुझाव दिन आग्रह गर्नुभयो । काठमाडौंको बुइखलमा आयोजना हुने सम्यक महादानलाई सफल बनाउन सबै पक्षको रचनात्मक सुझाव र सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल