महाअष्टमीः जनकपुरको राजदेवी मन्दिरमा लाखौँ श्रद्धालुको घुइँचो

.

विजयदशमीको आठौँ दिन अर्थात महाअष्टमीका अवसरमा जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको राजदेवी मन्दिरमा दर्शनार्थीको जनसागर ओइरिएको छ ।
राजा जनककी कुलदेवीका रूपमा पुजिने राजदेवी माताको दर्शन र प्रसाद चढाउन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू यहाँ जम्मा भएका छन् । महाअष्टमीको अवसरमा माता राजदेवीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यसै विश्वासका साथ शनिवार राति १२ बजेदेखि नै मन्दिर परिसरमा भक्तजनहरूको लाम शुरु भएको थियो । मन्दिर व्यवस्थापन समितिकाअनुसार बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लाग्ने क्रम जारी छ । राजदेवी मन्दिरको धार्मिक गरिमाका कारण जनकपुर मात्र नभई सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजनहरू यहाँ आउने गर्छन् । अष्टमीको दिन प्रसाद अर्पण गर्ने परम्परालाई विशेष महत्व दिइने भएकाले यहाँको चाप अन्य दिनको तुलनामा कैयौँ गुणा बढी देखिन्छ । श्रद्धालुहरूको अत्यधिक चापका कारण मन्दिर आसपासका मिठाई पसल र बजार क्षेत्रमा पनि उत्तिकै चहलपहल बढेको छ । स्थानीय प्रशासनले दर्शनार्थीहरूको सुरक्षा र सहज दर्शनको व्यवस्था मिलाउन सुरक्षाकर्मी परिचालन गरेको छ । राजदेवी मन्दिरमा हुने महाअष्टमीको यो विशेष पूजाआजाले जनकपुरको सांस्कृतिक सौन्दर्यलाई थप प्रगाढ बनाएको छ । –न्युज एजेन्सी नेपाल