शरदको निलो आकाशमा ‘चङ्गा चेट’ को उल्लास (फोटो फिचर)

.

शरद ऋतुको सफा निलो आकाश, मन्दमन्द बगिरहेको चिसो सिरेटो र खेतबारीमा पहेँलपुर झुलेका धानका बालाहरू । अनि त्यही आकाशमा चञ्चल भएर चराझैँ तैरिरहेका रंगीबिरंगी चङ्गाहरू । नेपालीहरूको महान चाड बडादशैँ भित्रिएको सबैभन्दा सुन्दर, मौलिक र जीवन्त संकेत यही हो । कुनै समय काठमाडौं उपत्यकाका हरेक घरका कौसी र छतबाट गुञ्जिने चङ्गा चेटको आवाज आजभोलि शहरका अग्ला कङ्क्रिटका भवन र व्यस्तताले गर्दा केही संकुचित देखिए पनि यसको मौलिक उल्लास भने अलिकति पनि घटेको छैन । बरु दशैँको बिदामा युवा तथा बालबालिकाहरू परम्परागत लट्टाई र चङ्गाको झोला बोकेर उपत्यका वरिपरिका खुला हरियाली डाँडाहरूमा पुगेका छन् । काठका आकर्षक बुट्टा कुँदिएका परम्परागत लट्टाई, विभिन्न रङ र आकारका चङ्गाहरू, तान्ना (कन्नी) बाँध्ने र माञ्झा धागो सुल्झाउने तन्मयता, अनि चङ्गा जुधाउँदाको उत्कण्ठा–यी सबै दृश्यहरूले दशैँलाई साँच्चिकै स्वर्णिम बनाएका छन् । घामको न्यानो किरण र निलो आकाशलाई साक्षी राखेर दुई हातले लट्टाई माथि उठाउँदै युवाहरू दशैँको बिहानी घाममा चङ्गालाई आकाशको अनन्त गहिराइमा पु¥याउने उत्साहमा रमाएका छन् । डाँडाको घाँसे मैदानमा बसेर चङ्गा छानिरहेका देखिन्छन् । पहेंलो, रातो, कालो र नीलो रङका परम्परागत नेपाली कागजका चङ्गाहरू उडाउनका लागि तयारी अवस्थामा छन् । दशैँ केवल खानपिन, दक्षिणा र नयाँ लुगामा मात्र सिमित पर्व होइन । यो खुला आकाशसँगको आत्मीय संवाद हो, बाल्यकालका ती मीठा स्मृतिहरूको पुनरावृत्ति हो र प्रविधिको कृत्रिम बन्दी बनेको आधुनिक जीवनलाई प्रकृतिको खुला काखमा फर्काउने सुन्दर बहाना हो । काठमाडौंका डाँडाहरूमा हावाको लहरसँगै उडाइएका यी चङ्गाहरूले एउटा गहिरो सन्देश दिएका छन् । आकाश जतिसुकै विशाल भएपनि आफ्नो लट्टाई र संस्कृतिको धागो सधैं आफ्नै हातमा बलियो हुनुपर्छ । ‘चङ्गा चेट’ को यो अद्वितीय उल्लास र खुशी हामी सबैको जीवनमा सधैं छाइरहोस् । –न्युज एजेन्सी नेपाल
 तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल