चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको अकालमा ज्यान गएको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंश (सर्पको टोकाइ) बाट भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । सो अवधिमा सर्पदंशबाट मात्रै ११० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २५ जना घाइते भएका छन् ।
सर्पदंशको भयावह अवस्थाः बाढी–पहिरोभन्दा बढी मानवीय क्षति
वर्षायाम र तराई तथा पहाडी भेगमा सर्पको टोकाइ विपद्को सबैभन्दा घातक कारण बनेको छ । वैशाख १ देखि कार्तिक ३ सम्म देशभर १ हजार ६ सय २२ वटा सर्पदंशका घटना दर्ता भएका छन्, जसमा ११० जनाको ज्यान गएको छ । यसबाट १ हजार ५ सय २५ जना घाइते भएका छन् भने १ हजार ६ सय २७ परिवार प्रभावित बनेका छन् । घाइतेहरूको संख्या हेर्दा पनि विपद्का कुल घाइते (२,४३३) मध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशकै घाइते रहेका छन्, जसले प्राथमिक उपचार र एन्टिस्नेक भेनमको उपलब्धतामा थप गम्भीर ध्यानाकर्षण गराएको छ ।
मनसुनजन्य विपद् ः पहिरो, बाढी र चट्याङको वितण्डा
विपद्मा दोस्रो ठूलो मानवीय क्षति पहिरोका कारण भएको छ । यस अवधिमा १ हजार ७ सय ९ स्थानमा पहिरो जाँदा ७६ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् र ७५ जना घाइते भएका छन् । पहिरोले १ हजार ४ सय २६ परिवारलाई घरबारविहीन वा प्रभावित बनाएको छ ।
त्यस्तै, ४६० ठाउँमा आएको बाढीका कारण ४१ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् । बाढीबाट १ हजार ३ सय ४८ परिवार प्रभावित बनेका छन् । बाढी र पहिरोमा गरी १४ जना नागरिक बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जोखिम छ ।
अर्कोतर्फ, चट्याङका ३३३ वटा घटनामा ३६ जनाको ज्यान गएको छ भने २०४ जना घाइते भएका छन् र ४०३ परिवार प्रभावित बनेका छन् ।
आगलागी, लेक लाग्ने र वन्यजन्तुको त्रास
तथ्यांक अनुसार देशभर १ हजार ५ सय ७ स्थानमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते र १ हजार ६ सय ३९ परिवार प्रभावित भएका छन् । हिमाली तथा उच्च पहाडी भेगमा लेक लाग्नेका ७२ वटा घटनामा २६ जनाले ज्यान गुमाएका छन् भने ४८ जना घाइते भएका छन् ।
यस्तै, मानव–वन्यजन्तु द्वन्द्वका कारण ३९८ वटा जनावर आक्रमणका घटना भएका छन्, जसमा २१ जनाको मृत्यु र २४१ जना घाइते भएका छन् । ६ वटा हिउँ पहिरोका घटनामा १९ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु र १ हजार ४ सय ९५ परिवार प्रभावित भएका छन् भने भारी वर्षाका ५८४ घटनामा ७ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टाको ताजा अवस्था
प्राधिकरणकाअनुसार कार्तिक २ गते बिहान १० बजेदेखि कार्तिक ३ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २१ जिल्लामा २४ वटा विपद्का घटना घटेका छन् ।
पछिल्लो २४ घण्टामा आगलागीका १८ वटा घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । त्यस्तै ५ जिल्लामा ५ वटा सर्पदंशका घटना हुँदा ९ जना घाइते भएका छन् भने १ वटा जनावर आक्रमणमा १ जना घाइते भएका छन् । २४ घण्टाको अवधिमा कुल १ जनाको मृत्यु र ११ जना घाइते भएका छन्। यस अवधिमा १८ लाख २ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति हुनुका साथै १६ चौपायाको क्षति भएको छ । राहत र उद्धारका लागि १४१ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
समग्र मानवीय र पारिवारिक क्षति सारांश
वैशाख १ देखि कार्तिक ३ सम्म घटेका कुल ७ हजार ४ सय ३९ विपद्का घटनामा ३८६ जनाको मृत्यु, १४ जना बेपत्ता, २ हजार ४ सय ३३ जना घाइते र ९ हजार ५ सय २५ परिवार प्रभावित भएका छन् । प्राधिकरणले मौसम परिवर्तन, सुक्खा मौसमको शुरुवात र हिउँद नजिकिँदै गर्दा आगलागी र चिसोका सम्भावित जोखिमप्रति सतर्क रहन र विपद् सम्बन्धी पूर्वसूचनाका लागि आधिकारिक माध्यमहरू फलो गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल