चाडपर्वका बेला घर फर्कने यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा सतर्कतासहित प्रहरी परिचालन गरेको छ ।
लामो दूरीका यात्रुवाहक सवारीसाधनका चालकहरूको प्रस्थान बिन्दुमै मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे–लापसे) परीक्षणदेखि राजमार्गका होटलहरूमा हुने कालोबजारी नियन्त्रणसम्मका कार्य कडाइका साथ अगाडि बढाइएको प्रहरीले जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै दशैँ–तिहार लक्षित विशेष सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । चाडपर्वमा प्रहरी कर्मचारीहरूको नियमित बिदासमेत स्थगन गरी नागरिकको सुरक्षार्थ टोलीहरू परिचालित गरिएको उहाँले स्पष्ट पार्नुभयो । विशेषगरी लामो दूरीका सवारीसाधन छुट्ने उद्गम बिन्दुमै चालकको अनुमतिपत्र, सवारीसाधनको यान्त्रिक अवस्था तथा चालकले नसालु पदार्थ सेवन गरे–नगरेको कडाइका साथ जाँच भइरहेको छ । जाँचका क्रममा चालकले मापसे वा लापसे गरेको पाइएमा तत्काल कानूनी कारबाही गरिने र यात्रुलाई अलपत्र पर्न नदिन यातायात व्यवसायीहरूसँग समन्वय गरी तुरुन्तै अर्को सक्षम चालकको वैकल्पिक व्यवस्था मिलाइने प्रवक्ता काफ्लेले बताउनु भयो । राजमार्गका होटल तथा पसलहरूमा यात्रुहरूलाई गुणस्तरहीन र मिसावटयुक्त खाना खुवाउने, बढी मूल्य असुल्ने तथा ठगी गर्ने प्रवृत्ति रोक्न जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा वाणिज्य कार्यालयका प्रतिनिधिसहित सादा पोशाकका प्रहरी टोलीले नियमित छड्के अनुगमन गरिरहेका छन् । साथै काठमाडौंका नागढुङ्गा, फर्पिङलगायत प्रमुख नाकाहरूमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिए–नलिएकोबारे सोधपुछ तथा निगरानी भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि राजमार्ग तथा शहरका भित्री क्षेत्रहरूमा क्विक रेस्पोन्स टिम (क्यूआरटी) मोटरसाइकल तथा सञ्चार उपकरणसहितका गाडी (सीआरभी) निरन्तर गस्तीमा छन् । संवेदनशील तथा भीडभाड हुने धार्मिक स्थल, मेलापर्व र बजार क्षेत्रहरूमा ड्रोन, सीसीटीभी तथा तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको छ । आपत्कालीन अवस्थामा १०० नम्बरमा सम्पर्क हुन नसके नेपाल प्रहरीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयको ड्युटी अधिकृतलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
उहाँले भन्नुभयो, ‘लामो दूरीका सवारीसाधनका चालकको अनुमतिपत्र, मादक तथा लागुऔषध सेवन र सवारीसाधनको अवस्था जाँच गरिन्छ । चालकले मापसे वा लापसे गरेको पाइएमा कानुनबमोजिम कारबाही गरी यातायात व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरेर योग्य चालकको व्यवस्था मिलाइन्छ, ताकि यात्रुहरू अलपत्र पर्नु नपरोस् । राजमार्गका होटल तथा खाजाघरमा गुणस्तरहीन खाना, बढी मूल्य असुली र ठगी रोक्न सम्बन्धित निकायसँग समन्वय गरी छड्के अनुगमन भइरहेको छ । यात्राका क्रममा त्यस्ता समस्या देखिएमा प्रहरीको १०० नम्बरमा खबर गर्न सकिन्छ । फोन नलागेमा नेपाल प्रहरीको आधिकारिक वेबसाइट धधध.लभउबउियष्अिभ.नयख.लउ मार्फत उजुरी तथा गुनासो दिन सकिन्छ । रात्रिकालीन गस्ती, क्रस पेट्रोलिङ, चेकिङ तथा आकस्मिक उद्धारका लागि प्रहरी टोली २४ सै घण्टा परिचालन गरिएको छ । प्रत्येक जिल्लाको सुरक्षा योजनाअनुसार गस्ती र निगरानी भइरहेको छ भने आपत्कालीन अवस्थाका लागि क्युआरटी तथा अन्य उद्धार टोली तयारी अवस्थामा राखिएका छन् । सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर र सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएका छन् । स्थानीय सरकार, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले सञ्चालन गरेको बाइक एम्बुलेन्सजस्ता आकस्मिक सेवामा पनि आवश्यकताअनुसार सम्बन्धित स्थानीय सरकार र निकायसँग समन्वय गरी नागरिकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ ।’
बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप तथा आकस्मिक दुर्घटनाको तत्काल उद्धारका लागि केन्द्रिय विपद् तालिम केन्द्र, प्रदेशस्तरीय गुल्म तथा सबै जिल्लाका प्रहरी युनिटहरूलाई ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । –न्युज एजेन्सी नेपाल