नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिनुभएको छ ।
दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उहाँले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिनुभएको हो । उहाँले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउनु भयो । तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरु तयार रहेको उहाँको भनाई छ । उहाँले २०४७ सालपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले सरकारमा रहँदा गरेका कामको विवरण सार्वजनिक गर्ने पनि बताउनु भयो । विभिन्न समयमा आफूहरू सरकारको नेतृत्वमा पुगेको र संघ, प्रदेश तथा स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उहाँले ती जिम्मेवारीका क्रममा भएका कामको विवरण जनतामाझ ल्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा भाष्य के छ भने यी पुराना पार्टीहरूले केही पनि गरेनन् । यी पुराना नेताहरूले केही पनि गरेनन् । देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो कति गलत हो ? यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन । तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ । तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ । विभिन्न समयहरूमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ । पार्टीको नेतृत्व गरेर विभिन्न निकायलाई सञ्चालन गर्ने जिम्मेवारी पनि पार्टीका नेताहरूले कार्यकर्ताहरूले सम्हाल्नुभएको पनि छ । यी सबै कुराहरूको सन्दर्भमा गरिएका कामहरूको पनि हामी विवरण तपाईँहरूको बीचमा पनि ल्याउने छौँ । त्यसलाई प्रकाशित पनि गर्नेछौँ । २०४७ साल यता वामपन्थीहरूले, कम्युनिष्टहरूले सरकारमा गएर के–के जिम्मेवारीहरू पूरा गरे ? हाम्रो पार्टीसँग जोडिएका नेता–कार्यकर्ताहरूले के–के जिम्मेवारीहरू पूरा गरे ? यी कामहरू फलानो कामहरू कसले ग¥यो भन्ने प्रश्न उठाइसकेपछि त्यसको जवाफ सिधै देख्न सकियोस् । हामी अमूर्त कुरा गरिरहेका छैनौँ । हामी ढाँट कुरा पनि गरिरहेका छैनौँ । तर आज हामी के देख्दछौँ भने गरिएका कामहरूलाई पनि ढाकछोप गर्ने, त्यसको चर्चा पनि गर्न नचाहने, जोखिमपूर्ण कामहरू सुरु गरेको, देशको त्यस्तो दुर्गतिलाई सम्बोधन गर्ने काम गरेको, यी सबै कुराको चर्चा पनि गर्न नचाहने, जस पनि दिन नचाहने, अपजस मात्रै अरूको थाप्लोमा पार्ने यो प्रवृत्ति व्याप्त छ ।’
उहाँले विगतमा भएका कामको चर्चा नगर्ने र उपलब्धिको जस नदिई अपजस मात्रै पुराना दलमाथि थोपर्ने प्रवृत्ति रहेको आरोप लगाउनु भयो । जोखिमपूर्ण कामको शुरुवात र देशका समस्या सम्बोधन गर्न भएका प्रयासको समेत उचित चर्चा नभएको उहाँको गुनासो छ ।
उहाँले वर्तमान दुई तिहाइ बहुमतको सरकारले जनताका समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । जनअपेक्षा पूरा गर्ने तथा लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अपेक्षा गरिएपनि उक्त कार्य हुन नसकेको उहाँको भनाई छ । पछिल्लो समय सरकारले गरेको विभिन्न घटनाक्रमले आफूहरूलाई चुप लागेर बस्न नसक्ने अवस्था सिर्जना गरेको बताउनु भयो । जनताका गुनासा, आलोचना, अपेक्षा र आकाक्षा बुझ्न पार्टीले जनतामाझ केन्द्रित अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो । अभियानअन्तर्गत पार्टीका नेता–कार्यकर्तालाई राजधानी र सदरमुकाममा सीमित नराखी गाउँ, वडा, टोल र बस्तीस्तरसम्म परिचालन गरिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘दुई तिहाइको सरकार छ । यसले त जिम्मेवार ढङ्गले मुलुक चलाउनेछ। जनताका पिरमार्काहरूको सम्बोधन गर्नेछ । जनताका इच्छा–आकाक्षाहरूलाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ । लोकतन्त्रको रक्षा गर्नेछ । गणतन्त्रलाई जोगाउनेछ, अझै सुदृढ गर्नेछ । तर अनेकौँ खालका कुराहरू देखिरहँदा, सुनिरहँदा स्वभाविक रूपमा हामी तमासे भएर बस्न सक्दैनौँ ।’
उहाँले पुराना राजनितिक पार्टीहरुले विगतका गल्ती कमजोरीहरुलाई आत्मसमिक्षा गर्दै अगाडी बढ्न आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल