असन सेवा समितिले बुधवार असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौं महानगरपालिकाको विशेष सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको हो । ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा असनका स्थानीय बासिन्दाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । यसैबीच, नेपाल रेडक्रस सोसाइटीले अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा मौज्दात घटेपछि सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ । बडादशैँको लामो बिदाका कारण केन्द्रिय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको तथा अस्पतालमा बिरामीका लागि रगतको माग दिनानुदिन बढ्दै गएकाले अभाव भएको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवकाअनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) लगायतका रक्तघटकको मौज्दात सकिएको छ । यसले गर्दा बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको सोसाइटीको भनाइ छ । डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवा–युवतीलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ । बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ । त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ । –न्युज एजेन्सी नेपाल