कार्यकारी भुमिकामा रहेकाहरुले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरुले खेल्ने भाँडाकुटी जस्तो बनाएः शंकर पोखरेल

.

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुका गतिविधिहरुले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरुले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गर्नुभएको छ ।
सोमवार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्तत्रा सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी पनि गर्नुभयो । सरकारका यस्ता गतिविधिहरुले मुलुकको लोकतान्त्रिक व्यवस्थाको भविष्यमाथि समेत संकट उत्पन्न भएको उहाँको भनाइ छ । उहाँले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन र सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको समेत बताउनु भयो । उहाँले लोकतन्त्रको आधार संगठित हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएपनि पछिल्लो समय विद्यार्थी संगठनका गतिविधि प्रतिवन्धित गर्ने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनलाई समेत गतिविधि नगर्न निर्देशन दिने काम भइरहेकोप्रति आपत्ति जनाउनुभयो । उहाँले सरकार आफैँ वाह्य शक्तिहरुको खेलौना बनेको हो कि भन्ने आशंका मुलुकभित्र मात्र नभई मुलुकबाहिरका छिमेकीहरुमा समेत उत्पन्न भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले मुलुकको लोकतन्त्रको भविष्यमाथि पनि संकट उत्पन्न भएको छ । लोकतन्त्रको आधार भनेको संगठित हुने र आफ्ना कुराहरु अभिव्यक्त गर्ने अधिकारकारको रुपमा बुझिन्छ । अहिले नेपालको लोकतान्त्रिक आन्दोलनका फाउन्डेसनका रुपमा रहेका विद्यार्थी संगठनको गतिविधिलाई प्रतिबन्ध लगाउने काम भएको छ । विश्व विद्यालयहरुमा, क्याम्पसहरुमा, ट्रेड युनियनहरुको अधिकारलाई नियन्त्रण गर्ने काम भएको छ । अस्ति मात्रै मैले एउटा समाचार पढ्दै थिएँ । गृहमन्त्रालयको आदेश भनेर व्यावसायिक संगठनहरुलाई पनि रोक लगाउने काम भएको छ । प्याब्सनलाई समेत अब तिमीहरु गतिविध नगर भनेर खेलेको पत्र पढिरहेको थिएँ । पत्रकारहरुका सन्दर्भको कुरा गर्दाखेरि त अब मिडिया हाउसबाटै पत्रकारलाई काम गर्दागर्दै गिरफ्तार गरेका कुराहरु त हामी सुनिरहेकै छौँ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार भन्दै गर्नुहुन्छ कतिजनाको सूचीमा तिम्रो नाम परेन भने त तिमी के पत्रकार ? भनेर चाहीँ पत्रकारहरुलाई मेन्सन गर्नुहुन्छ । राज्य यस्तो प्रकारको ठट्टा मजाकको विषय बन्न सक्दछ ? जति जिम्मेवार ओहदामा भयो त्यति ज्यादा संयमित र जिम्मेवार हुनुपर्दछ । तर आज हाम्रा मुलुकका कार्यकारी भुमिकामा रहेका मान्छेहरुका सोसल मिडियाका गतिविधिहरु हेर्ने हो पढ्ने हो भने, राज्य बालबालिकाहरुले खेल्ने भाडाकुटी जस्तो विषय बनाइएको छ । राज्य राज्य जस्तो छैन, सरकार सरकार जस्तो छैन । जसले हाम्रो लोकतन्त्रलाई पनि कमजोर बनाइराखेको छ र संविधान र संवैधानिक अंगहरु एक प्रकारले निष्क्रिय बनेका छन् ।’
भूराजनीतिक द्वन्द्वमा नेपाल सरकार र त्यसको नेतृत्व जुन हिसावले परिचालित भइरहेको छ त्यसले मुलुकको संवेदनशील भूराजनीतिलाई जोखिममा पारेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल