अपि हिमाल पर्यटन उत्सव आयोजना हुँदै, पूर्वाधार विकाससँगै स्थानीय रोजगारी र आयआर्जनमा जोड

.

सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित दार्चुलाको अपिहिमाल गाउँपालिकाले तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ ।
कात्तिक १७ गते मंगलबार देखि १९ गतेसम्म गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना हुने उत्सवले अपिको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुका साथै स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराकाअनुसार अपि हिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमा परेपनि पर्याप्त प्रचारप्रसार हुन नसकेकाले उत्सव मार्फत पर्यटन प्रवर्धनलाई प्राथमिकता दिइएको बताउनु भयो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजना मार्फत पनि विगत केही वर्षदेखि अपि हिमालको पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यो परियोजनाले सन् २०२५ देखि अपिमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने, स्थानीय समुदायको आयआर्जन बढाउने र ग्रामीण अर्थतन्त्रलाई पर्यटन तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले  विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।


यूएनडीपीको दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्मराज दवाडीले तीनदिने उत्सवलाई केवल पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सिमित नराखी स्थानीय कला, संस्कृति, खेलकुद र साहित्य पर्यटन तथा जलवाय परिर्वतनको बहस लगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘अपि हिमाल सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल भएपनि पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । अपिलाई देशविदेशमा चिनाउँदै पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी र आयआर्जन बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनामार्फत विगत केही वर्षदेखि काम गर्दै आएका छौँ । यसैको निरन्तरताका रूपमा पर्यटन उत्सव आयोजना गरिएको हो । तीनदिने उत्सवमा स्थानीय कला संस्कृति, क्रिकेट, भलिबल, साहित्यिक महोत्सव, योग, ध्यान र जलवायु संवादका कार्यक्रम राखेका छौ ँ। स्थानीय संस्कृति र खेलकुदलाई पर्यटनसँग जोड्दै कलाकार तथा समुदायका लागि आयआर्जनका अवसर सिर्जना गर्नु यसको उद्देश्य हो । हामीले सन् २०२५ देखि अपि हिमाललाई प्राथमिकताप्राप्त पदमार्गका रूपमा अघि बढाएका छौँ । अपि हिमालको पर्यटन प्रवद्र्धनलाई एकपटकको उत्सवमा मात्र सीमित नराखी दीर्घकालीन योजनाका साथ अघि बढाउने हाम्रो तयारी छ । यसपटकको उत्सवमा सहभागी पर्यटकबाट अपिको पर्यटन विकासका सम्भावना, समस्या र सुधारका विषयमा सुझाव तथा तथ्याङ्क सङ्कलन गरिनेछ । पर्यटकबाट प्राप्त सुझावका आधारमा अपिको छुट्टै बजारीकरण रणनीति तयार गरी त्यसअनुसार प्राथमिकताका कार्यक्रम सञ्चालन गर्ने योजना छ । 
अहिले पाँचदेखि छ हजार स्वदेशी र करिब चारदेखि पाँच सय विदेशी पर्यटक अपि पुग्ने गरेका छन् । आगामी केही वर्षभित्र वार्षिक ४० देखि ५० हजार पर्यटक पु¥याउने लक्ष्य छ । त्यसका लागि पूर्वाधार विकास, स्थानीय क्षमता अभिवृद्धि र छुट्टै बजारीकरण रणनीति तयार गर्दै अपिको प्राकृतिक सौन्दर्यलाई देशविदेशमा चिनाउने हाम्रो प्राथमिकता छ ।’


प्रवन्धक दवाडीकाअनुसार पहिलो दिन उद्घाटनसँगै स्थानीय कला संस्कृति र नाच प्रस्तुत गरिनेछ । स्थानीय कलाकारको आत्मविश्वास बढाउने, परम्परागत संस्कृति संरक्षण गर्ने र त्यसलाई पर्यटन तथा आयआर्जनसँग जोड्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको उहाँले बताउनुभयो । दोस्रो दिन धनगढी–११ र अपि–११ बीच क्रिकेट महोत्सवसँगै भलिबललगायत स्थानीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । यसले अपिलाई खेल पर्यटनको गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । तेस्रो दिन साहित्यिक महोत्सव,योग, ध्यान र आरोग्य पर्यटन बारे छलफल गरिने छ । नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी र यससम्बन्धी रणनीति तथा कार्ययोजनालाई समेत ध्यानमा राखेर अपि पदमार्गलाई आरोग्यमैत्री पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सोच परियोजनाले अघि सारेको प्रबन्धक दवाडीले बताउनुभयो । जलवायु परिवर्तनका कारण पर्यटन तथा पर्यटकीय क्षेत्रमा परिरहेको प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकारवालालाई सचेत गराउने उद्देश्यले उत्सवमा जलवायु संवाद लगायतका कार्यक्रम पनि समावेश गरिएको छ ।
परियोजना अन्र्तगत पर्यटकलाई आवश्यक पर्ने सेवा सुविधाको स्तरोन्नति गर्न स्थानीय होटल, होमस्टे र लज सञ्चालकको क्षमता अभिवृद्धि गर्ने, आवश्यक स्थानमा नयाँ सेवा केन्द्र स्थापना गर्ने तथा पदमार्गमा सूचना बोर्ड, साइनेज, स्नो पोल मार्कर, पर्यटक विश्रामस्थल र सूचना केन्द्र निर्माण गर्ने काम भइरहेको छ ।


गाउँपालिकाका अध्यक्षका अनुसार, अपि हिमालमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढेसँगै स्थानीय होटल तथा होमस्टेको सङ्ख्या र सेवा क्षमता दुवैमा वृद्धि भएको छ । होटल तथा होमस्टेमा काम गर्ने कर्मचारीको सङ्ख्या बढेको छ भने स्थानीय गाइड, ट्रेकिङ गाइड र पोर्टरको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्न सूचना केन्द्रसँगै विभिन्न स्थानमा कोसेली घर सञ्चालन तथा प्रवद्र्धन गरिएको छ । राष्ट्रिय नाचघरसँगको समन्वयमा सांस्कृतिक प्याकेजसमेत विकास गरिएको छ । अपिलाई सांस्कृतिक केन्द्रका रूपमा प्रवद्र्धन गर्ने प्रयास भइरहेको उहाँको जानकारी दिनुभयो । केही वर्षअघिसम्म अपि हिमाल पुग्ने स्वदेशी पर्यटकको सङ्ख्या निकै न्युन थियो भने विदेशी पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका थिए । अहिले बार्षिक पाँच सय विदेशी सहित करिब छ हजार पर्यटक अपि पुगेको गाउँपालिकाले जनाएको छ ।  पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, होमस्टे, गाइड तथा अन्य सेवा प्रदायकको आम्दानीमा वृद्धि भएको र पर्यटनसँग जोडिएका रोजगारीका अवसरसमेत विस्तार हुँदै गएको छ । –न्युज एजेन्सी नेपाल