प्रहरी महानिरीक्षकमा एआईजी डा. मनोजकुमार केसी नियुक्त, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी

.

सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख समेत रहेका एआईजी  केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले मुलुकको शान्ती सुरक्षा सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षक (आईजीपी) सरहको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय समेत गरेको छ । हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको पनि मन्त्री पोखरेलले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिमा मुलुकको शान्ती सुरक्षा सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षक सरहको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने, निर्णय एक बमोजिम विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई खटाउने, प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रकरण दुई बमोजिम प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटिई रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी नियमावली,२०७१ को नियम ४१ बमोजिम मिति २०८३ कात्तिक १८ गतेदेखि लागू हुनेगरी बढुवा गर्ने निर्णय गरिएको छ ।’
सरकार र प्रहरीबीच विवाद रहेको चर्चाबीच सरकारले आईजीपी कार्कीलाई बर्खास्त गरी केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । –न्युज एजेन्सी नेपाल