नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताउनुभएको छ ।
काठमाडौंमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उहाँको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । डा. कोईरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा अथ्र्याउनु भयो । उहाँले १५ औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भुमिका रहने बताउनु भयो । शुरुवाती चरणमा देखिएको उत्साहजनक उपस्थितिले अधिवेशन सफल भएको आभास दिएको उहाँको भनाइ छ ।
डा. कोईरालाले नेता गगन थापाको प्रसंग कोट्याउँदै भन्नुभयो, ‘हामीले गगन थापालाई यति धेरै महत्व किन दिन्छौँ ? तपाईं जति गाली गर्नुहुन्छ, उनको महत्व त्यति नै बढ्छ । त्यसैले उनको कुरै नगरौँ । फिल्ममा हिरोले भिलेनलाई मारेजस्तै हामी पनि राजनीतिक भिलेन खोजिरहेका छौँ, र त्यो पात्रका रूपमा गगन थापालाई देख्छौँ । तर त्यो हाम्रो भ्रम हो । हाम्रो असली भिलेन गरिबी, अशिक्षा र बेरोजगारी हो । तिनको विरुद्धमा लड्नु नै आजको आवश्यकता हो ।’
डा. कोइरालाले राजनीतिमा ‘अरूलाई कुरुप देखाएर आफू सुन्दर बन्न सकिँदैन’ भन्दै कार्यकर्ताहरूलाई एकताको सन्देश दिनुभयो । उहाँले पार्टीका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल