नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैनः प्रकाशमान सिंह

.

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पार्नुभयो । नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्ताहरूलाई फिल्डमा खटिन आग्रह गर्नुभयो । आफ्नो प्रस्ट वक्ताको छविलाई कायम राख्दै नेता सिंहले कार्यकर्ताहरूलाई जनताको माझमा पुगेर काम गर्न निर्देशन दिनुभयो । उहाँकाअनुसार संगठन बलियो बनाउने एकमात्र विकल्प भनेको जनतासँग भिज्नु र उनीहरूका समस्यामा साथ दिनु हो ।
नेता सिंहले भन्नुभयो, ‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ । सङ्गठनमा जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्छ । राजधानीमा बसेर जिल्लाको सङ्गठन चलाउने होइन, सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिएर सङ्गठन निर्माणमा लाग्नुपर्छ । नेताको नजिक भएर मात्र हुँदैन, जनतामाझ पुगेर उनीहरूका भावना र आवश्यकता बुझ्नुपर्छ । जनता धेरै अगाडि बढिसकेका छन्, अब हामी पनि जनतामाझ अझ बढी भिजेर काम गरौँ ।’
पार्टीको सांगठनिक सुदृढीकरणका लागि स्थानीयस्तरमा खटिने निष्ठावान् कार्यकर्ताहरूलाई पार्टीको मूल प्रवाहमा स्थान दिइनुपर्ने उहाँको तर्क छ । –न्युज एजेन्सी नेपाल