‘लोकतन्त्र खोस्न खोजे काँग्रेस चुप बस्दैन, अरु दुर्गानन्दहरु जन्मिन्छन्’– प्रदीप पौडेल

.

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।
शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने बताउनुभएको हो । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिवद्धता स्पष्ट पार्नुपर्ने बताउनु भयो । निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उहाँको भनाइ छ । स्थानीय तहको निर्वाचन दलीय प्रतिष्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सरकारले कुनै गृहकार्य नगरेको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस तत्काल सडक आन्दोलनमा जान नचाहेको तर सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्र जोगाउन जुनसुकै संघर्ष गर्न तयार रहेको बताउनु भयो । सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्ने भन्दै उहाँले सडकमा उभिएर आफ्ना कुरा राख्ने नागरिकको आवाजसमेत सुनिने वातावरण बनाउनुपर्ने बताउनु भयो ।
महामन्त्री पौडेलले भन्नुभयो, ‘सरकारले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न कुनै ठोस गृहकार्य गरेको देखिँदैन । बरु आगामी चैतमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ । तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो । स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा हुने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्छ । तर सरकारले त्यसका लागि कुनै तयारी गरेको देखिएको छैन । त्यसैले सरकारको वास्तविक योजना र उद्देश्यबारे स्पष्टता आवश्यक छ । नेपाली काँग्रेस अहिले सडक आन्दोलनमा जानुभन्दा पनि सरकारलाई सचेत गराउँदै शान्तिपूर्ण र विधिसम्मत ढंगले आफ्ना प्रश्न राख्ने पक्षमा छ । नागरिकले सडकमा नआई पनि आफ्ना आवाज सरकारसम्म पु¥याउन सक्ने वातावरण हुनुपर्छ । तर लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने अवस्था आएमा त्यसको रक्षाका लागि आन्दोलन र अन्य दलसँग सहकार्य गर्न काँग्रेस पछि हट्ने छैन । काँग्रेसको भनाइमा लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु अहिलेका प्रमुख सरोकार हुन् ।’
पौडेलले अहिले पनि सरकार सच्चिएर सही बाटोमा आउने विश्वास आफूहरूमा रहेको उल्लेख गर्दै त्यसो नभए लोकतन्त्र रक्षाका लागि अन्य शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल