सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । आन्तरीक राजस्व विभागले कर दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट करदाता रहेका करदातालाई सम्मान गरेको हो । यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकोमा यस वर्ष विधाको संख्या बढाएर १९ पु¥याइएको छ । सरकारले विभिन्न क्षेत्र तथा व्यवसायमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । सम्मानित हुनेमा ठूला व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसायी र व्यक्तिगत करदाता रहेका छन् । निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रा.लि. सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान प्राप्त गरेको छ । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ ओसिबी फुड्स एण्ड फिड्स प्रालिले सम्मान पाएको छ ।
बैंकिङ क्षेत्रतर्फ नबिल बैंक उत्कृष्ट करदाता बनेको छ भने स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । पर्यटन व्यवसाय गर्नेहरूमध्ये सोल्टी होटल लिमिटेडले सम्मान प्राप्त गरेको छ ।
वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । त्यस्तै, वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सम्मान पाएको छ ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिटेन्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् । व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने राजबहादुर शाह पनि सम्मानित भएका छन् ।
मूल्य अभिवृद्धि कर विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सम्मान प्राप्त गरेको छ । त्यस्तै, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड सम्मानित भएको छ ।
विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेको छ । जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र निर्जीवन बीमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएका छन् । लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान प्राप्त गरेको छ । उत्कृष्ट करदातालाई अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, गभर्नर डा.विश्वनाथ पौडेललगायतको उपस्थितिमा सम्मान गरियो ।–न्युज एजेन्सी नेपाल