काठमाडौं । जलवायु न्यायका लागि नेपालका युवा अभियन्ता तथा नागरिक समाजले गर्दै आएको संघर्ष र सक्रियताको अन्तर्राष्ट्रिय स्तरमा सम्मान भएको छ। जलवायु परिवर्तनसम्बन्धी अभियानमा सक्रिय अन्तर्राष्ट्रिय सञ्जाल क्लाइमेट एक्सन नेटवर्क (क्यान) इन्टरनेसनलले नेपालका युवा अभियन्ता, युवा तथा नागरिक समाजलाई ‘सोलिडारिटी फर जस्टिस अवार्ड’ प्रदान गरेको हो।
टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा बुधबार आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो। अन्ताल्या कोप सम्मेलन स्थलमा आयोजित कार्यक्रममा क्यान इन्टरनेसनलले जलवायु न्यायका पक्षमा नेपालका युवा अभियन्ता तथा नागरिक समाजले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।
अवार्ड प्राप्तिपछि नेपाली युवाहरूले सम्मेलनस्थलमै नमुना शवअगाडि दीप प्रज्वलन गर्दै प्रदर्शनसमेत गरेका थिए। उनीहरूले जलवायु परिवर्तनबाट प्रभावित समुदायले भोगिरहेका समस्या, जलवायु न्यायको आवश्यकता र विकसित राष्ट्रहरूको जिम्मेवारीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
नेपालका युवा अभियन्ता तथा नागरिक समाजले लामो समयदेखि जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण र जलवायु परिवर्तनबाट प्रभावित समुदायका सवाल अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन्। जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले यसको गम्भीर असर भोग्नुपरेको भन्दै उनीहरूले विकसित राष्ट्रलाई जलवायु क्षतिपूर्ति, आर्थिक सहयोग र उत्तरदायित्व वहन गर्न दबाब दिँदै आएका छन्।
तर, विकसित राष्ट्रबाट अपेक्षित ऐक्यबद्धता र सहयोग प्राप्त नहुँदा हिमाली क्षेत्रका मुद्दा अन्तर्राष्ट्रिय जलवायु वार्तामा पर्याप्त प्राथमिकता पाउन नसकेको अवस्था छ। विशेषगरी हिमनदी पग्लिने, बाढीपहिरो, अतिवृष्टि तथा अन्य जलवायुजन्य विपद्बाट प्रभावित समुदायका सवाल अझै प्रभावकारी रूपमा सम्बोधन हुन सकेका छैनन्।