राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
प्रतियोगिताका लागि अधिकतम ७२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभएको हो । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा सदस्यसचिव मेहताले प्रतियोगिताका लागि ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत भएको र आवश्यकताअनुसार विभिन्न शिर्षकबाट रकमान्तर गरी ७२ करोड रुपैयाँसम्म खर्च गर्न सकिने गरी स्वीकृति पाएको बताउनु भयो । उहाँले प्रतियोगितामा अनावश्यक खर्च नगरी मितव्ययितालाई प्राथमिकता दिइने स्पष्ट पारे । विगतका प्रतियोगिताभन्दा यसपटकको व्यवस्थापन राम्रो बनाउने प्रयास भइरहेको भन्दै उहाँले सबै खरिद प्रक्रिया निर्धारित विधिअनुसार अघि बढाइएको बताउनु भयो । प्रतियोगिताको पूर्वाधार निर्माण तथा मर्मतको काम पनि अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । केही खेलस्थलमा मर्मत, टायल बिछ्याउने, कार्पेटिङ, रंगरोगन र प्रकाश व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । मेहताकाअनुसार प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया लगभग टुंगिएको छ । छनोट भएका खेलाडी बन्द प्रशिक्षणमा रहेको र केही खेलका प्रतिष्पर्धा उद्घाटनअघि नै शुरु हुने भएकाले सम्बन्धित खेलाडीलाई त्यसअघि नै प्रतियोगिता स्थलमा पठाइने तयारी भइरहेको छ ।
उहाँले खेलाडीको पोशाक तथा खेल सामग्री विगतका प्रतियोगिताभन्दा राम्रो बनाउने प्रयास भइरहेको बताउनु भयो । खेलाडी छनोटमा खेल संघहरूबीच देखिएका विवादले खेलाडीलाई असर नपरोस् भन्ने उद्देश्यले वैकल्पिक समितिमार्फत पनि छनोट प्रक्रिया अघि बढाइएको उहाँको भनाइ थियो । प्रतियोगिताका लागि यातायात व्यवस्थापनमा समेत काम भइरहेको उनले जानकारी दिए । मंसिर १४ देखि १७ गतेसम्म हवाई उडान संख्या दोब्बर बनाउने विषयमा सम्बन्धित मन्त्रालय तथा निकायसँग छलफल र पत्राचार भइरहेको उहाँले बताउनु भयो । प्रतियोगिताको प्रचारप्रसारका लागि मंसिर ८ देखि १६ गतेसम्म रिङटोन बजाउने र १४ देखि सन्देश पठाउने तयारीसमेत गरिएको छ ।
उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीच प्रतियोगिता सञ्चालनका विषयमा कुनै असमझदारी नरहेको दाबी गरे । संविधानले व्यवस्था गरेको सहअस्तित्व, समन्वय र सहकार्यको सिद्धान्तअनुसार तीनै तहका सरकारबीच समन्वय भइरहेको उनको भनाइ थियो । सुर्खेत उपमहानगरपालिकाले पाँचवटा स्वागतद्वार निर्माण गर्नुका साथै आवश्यक सवारीसाधन र एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताको निर्णायक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन प्राविधिक समिति तथा खेल संघहरूसँग छलफल भइरहेको उहाँले बताउनु भयो । केही खेल संघमा विवाद रहे पनि त्यसको असर खेलाडीमाथि पर्न नदिने गरी काम भइरहेको उल्लेख गर्दै उहाँले खेलाडीलाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । मेहताले दशौँ राष्ट्रिय खेलकुदमा ई–स्पोट्र्सलाई पनि ३२ खेलमध्ये समावेश गरिएको जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ११औँ टोलीका रूपमा सहभागी गराइने भए पनि सबै खेलमा उसको सहभागिता नरहने उहाँले बताउनु भयो । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् वा सरकारको मात्रै कार्यक्रम नभई सबै नेपालीको साझा कार्यक्रमका रूपमा लिनुपर्नेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल