कृषि यान्त्रीकरण नीतिलाई समयसापेक्ष बनाउने तयारी भइरहेको छः कृषि सचिव मिश्र

.

कृषि, वन तथा पर्यावरण मन्त्रालयका डा. राजेन्द्रप्रसाद मिश्रले कृषि यान्त्रीकरण नीतिलाई समयसापेक्ष बनाइने बताउनुभएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनीलाई शुक्रवार सम्बोधन गर्दै उहाँले कृषि यान्त्रीकरणका लागि उपलब्ध गराइने अनुदानको दायरा कतै साँघुरो र कतै फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै छिट्टै अनुकुलको नीति ल्याइने बताउनु भयो । उहाँकाअनुसार नेपालको भौगोलिक विविधता, किसान समुदायको अवस्था, आर्थिक क्षमता र चेतनाको स्तर फरक रहेकाले सबै ठाउँमा एउटै नीति र कार्यशैली प्रभावकारी हुँदैन । कतिपय स्थानमा किसानलाई निःशुल्क कृषि उपकरण उपलब्ध गराउनुपर्ने अवस्था रहेको र कतिपय गाउँमा अझै पिकअप गाडीमा मेसिन राखेर लगेर देखाउनुपर्ने अवस्था छ । केही स्थानका किसानले उच्च गुणस्तरका आधुनिक कृषि उपकरणको आवश्यकता महशुस गरिसकेको बताउँदै उहाँले देशको विविधता, भूगोल, किसानको आवश्यकता र क्षमताअनुसार कृषि यान्त्रीकरण प्रवद्र्धन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
सचिव मिश्रले कृषि उपकरणको मर्मतसम्भार सेवालाई पनि यान्त्रीकरणकै महत्त्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताउनु भयो । निजी क्षेत्रले आफ्टर सेल्स सर्भिस सेन्टरसँगै मोबाइल मर्मत क्लिनिक सञ्चालन गर्नुपर्ने उहाँको सुझाव थियो । मोटरसाइकल मर्मतका लागि ठाउँ–ठाउँमा क्लिनिक सञ्चालन गर्न सकिने भए किसानले प्रयोग गर्ने पावर टिलर तथा अन्य कृषि उपकरण मर्मतका लागि पनि त्यस्तो व्यवस्था गर्न सकिने उहाँले बताउनु भयो ।
किसानले बिग्रिएका मेसिन बोकेर टाढाको मर्मत केन्द्रसम्म लैजानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक पार्टपुर्जा र औजारसहित प्राविधिक किसानकै घरदैलोमा पुगेर मर्मत गर्ने प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो । यसका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
सचिव मिश्रले भन्नुभयो,‘कृषि यान्त्रीकरण नीतिलाई समयसापेक्ष रूपमा परिमार्जन तथा अद्यावधिक गर्नुपर्ने आवश्यकता छ । हामीले तयारी समेत गरिरहेका छौँ । त्यसैगरी, कृषि यान्त्रीकरणका लागि उपलब्ध गराइने अनुदानको दायरा कतै साँघुरो बनाउनुपर्ने र कतै फराकिलो पार्नुपर्ने अवस्था पनि हुनसक्छ । किनकि नेपालमा विविध भूगोल, फरक–फरक किसान समुदाय, उनीहरूको आर्थिक क्षमता र आवश्यकताअनुसार कृषि यान्त्रीकरणको अवस्था पनि फरक छ । त्यसैले सबै ठाउँमा एउटै नीति र एउटै कार्यशैली प्रभावकारी हुन सक्दैन ।
कतिपय स्थानमा किसानलाई निःशुल्क रूपमा कृषि उपकरण उपलब्ध गराउनुपर्ने अवस्था छ भने कतिपय गाउँमा अझै पनि पिकअप गाडीमा मेसिन राखेर लगेर देखाउनुपर्ने अवस्था छ । अर्कोतर्फ, केही गाउँका किसानले उच्च गुणस्तरका र आधुनिक प्रविधियुक्त कृषि मेसिनको आवश्यकता महसुस गरिसकेका छन् । त्यसैले देशको विविधता, भौगोलिक अवस्था, किसानको आवश्यकता, आर्थिक क्षमता र चेतनाको स्तरलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण प्रवद्र्धन गर्न म यहाँहरूलाई मन्त्रालयको तर्फबाट अनुरोध गर्न चाहन्छु ।
अर्को महत्त्वपूर्ण विषय कृषि उपकरणको मर्मतसम्भार हो । यसका लागि हामी सबै मिलेर मोबाइल मर्मत क्लिनिक सञ्चालन गर्ने अवधारणालाई अगाडि बढाऔँ । यसमा मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्न हामी तयार छौँ । प्राविधिक विज्ञता र अनुभव भने यहाँहरूसँग छ । मोटरसाइकल मर्मतका लागि ठाउँठाउँमा क्लिनिक सञ्चालन गर्न सकिन्छ भने किसानले प्रयोग गर्ने पावर टिलर तथा अन्य कृषि मेसिन मर्मतका लागि त्यस्ता क्लिनिक किन सञ्चालन गर्न नसक्ने ? यसको नेतृत्व निजी क्षेत्र अर्थात् यहाँहरूले नै लिनुपर्छ, सरकारले मात्र सबै काम गर्न सम्भव हुँदैन । यहाँहरूले आफ्टर सेल्स सर्भिस सेन्टर र मोबाइल मर्मत क्लिनिक सञ्चालन गरिदिनुपर्छ । किसानले प्रयोग गर्ने पावर टिलर वा अन्य कृषि उपकरण बिग्रिएमा त्यसलाई बोकेर बजारसम्म वा टाढाको मर्मत केन्द्रसम्म ल्याउन सम्भव हुँदैन । बरु आवश्यक पार्टपुर्जा र औजार बोकेर मोटरसाइकलमा किसानकै घरदैलोमा पुग्ने र त्यहीँ मर्मतसम्भार गर्ने प्रणाली विकास गर्नुपर्छ । यस्तो व्यवस्था गर्न सकियो भने किसानले कृषि मेसिनरीको दिगो र प्रभावकारी उपयोग गर्न पाउनेछन् । त्यसैले परम्परागत कार्यशैलीभन्दा फरक, नवीन र नेपालको भौगोलिक अवस्था तथा किसानको आवश्यकतासँग मेल खाने मर्मतसम्भार प्रणाली विकास गर्दै अगाडि बढ्न आवश्यक छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई राष्ट्रिय नीतिको प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । झन्डै १९ खर्ब रुपैयाँको कुल आयातमध्ये करिव ४ खर्ब रुपैयाँ बराबरको कृषि तथा खाद्यजन्य वस्तु आयात गर्नुपर्ने अवस्थाले खाद्य सम्प्रभुता कायम गर्ने चुनौती देखाएको उहाँको भनाइ थियो ।
कुनैपनि नीति निर्माण गर्दा राष्ट्रिय सुरक्षालाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । कृषिलाई उत्पादनसँग जोड्दै उत्पादनलाई यान्त्रीकरणमार्फत व्यावसायीकरणतर्फ लैजानुपर्ने उहाँले बताउनु भयो ।
नेपालमा व्यावसायिक कृषिलाई विस्तार गर्नुअघि अर्धव्यावसायिक कृषिबाट शुरुवात गर्दै क्रमशः व्यावसायिकतातर्फ अघि बढ्नुपर्ने बताउँदै उहाँले कृषि प्रदर्शनीले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण सहयोग पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘हामीले आफ्ना नीतिहरू निर्माण गर्दा खाद्य सुरक्षाको विषयलाई कति प्राथमिकता दिएका छौँ भन्नेकुरामा गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ । मुख्य प्रश्न भनेको हामी खाद्य सम्प्रभुता कायम गर्न सक्ने मुलुक बन्ने कि नबन्ने भन्ने हो । झन्डै १९ खर्ब रुपैयाँको कुल आयातमध्ये करिव ४ खर्ब रुपैयाँ बराबरको कृषि तथा खाद्यजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको कुरा गर्नु आफैँमा चुनौतीपूर्ण छ । त्यसैले कुनै पनि नीति निर्माण गर्दा राष्ट्रिय सुरक्षालाई केन्द्रमा राख्नुपर्छ । यस अर्थमा खाद्य सुरक्षाको विषयलाई हामीले विशेष प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ । खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक छ । कृषिलाई उत्पादनसँग जोड्नुपर्छ भने उत्पादनलाई यान्त्रीकरणमार्फत व्यवसायीकरणतर्फ अगाडि बढाउनुपर्छ । नेपालमा व्यावसायिक कृषिलाई अगाडि बढाउनुअघि अर्धव्यवसायिक कृषिबाट शुरुवात गर्दै क्रमशः व्यावसायिकतातर्फ अघि बढ्नुपर्छ भन्ने मेरो धारणा छ । यसै सन्दर्भमा यहाँहरूले आज आयोजना गर्नुभएको कृषि प्रदर्शनी अत्यन्तै उपयुक्त र महत्वपूर्ण छ । यो प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न, कृषि यान्त्रीकरणलाई विस्तार गर्न तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न ठूलो सहयोग पु¥याउने विश्वास लिएको छु ।’
नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादन नहुने र विशुद्ध कृषि कार्यमा प्रयोग हुने कृषि मेसिनरी तथा उपकरणमा भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । कृषि उपकरण आयात गर्दा किसानले अझै पनि ५५ प्रतिशतसम्म भन्सार तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले यसमा नीतिगत सहजीकरण आवश्यक रहेको बताउनु भयो । कृषि उपकरणको गुणस्तर र मापदण्डमा एकरूपता कायम गरी प्रमाणीकरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । किसानले लागत साझेदारीमा खरिद गर्ने कृषि यन्त्र, उपकरण तथा प्रविधि आफैँले छनोट गर्न पाउने व्यवस्था हुनुपर्ने बताउँदै उहाँले कृषि मेसिनरी खरिदका लागि सहज कर्जा तथा बीमाको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।
अध्यक्ष शर्माले भन्नुभयो,‘स्वदेशी कृषि उत्पादन नीतिलाई पनि प्रोत्साहन मिलोस् भन्ने हामी चाहन्छौँ । नेपालमा कृषि उत्पादन नहुने, कृषि विशुद्ध कृषि कार्यमा प्रयोग हुने मेसिनरी वस्तुहरूमा भन्सार छुट हुनु, आजको दिनमा पनि ५५ प्रतिशत सम्मको भन्सारहरू चाहीँ किसानले अहिलेसम्म तिरीराख्नु परेको छ । गुणस्तर र मापदण्ड एकरूपतामा प्रमाणीकरणको लागि पनि अगाडि बढाइनुपर्ने छ । किसानको लागत साझेदारीमा खरिद गर्ने कृषि यन्त्र, उपकरण, प्रविधि किसान आफैँले छान्न पाउने व्यवस्था चाहीँ गर्नुपर्ने छ । यन्त्र प्रविधिको सहज कर्जा र बीमाको विषयमा पनि मैले यहाँ बैंकिङबाट सीईओदेखि लिएर बैंकिङ सेक्टरको पनि महानुभावहरू हुनुभएको कारणले गर्दा यस कृषि मेसिनरी किन्नको लागि यो फाइनान्स, एक्सेस टु फाइनान्सको लागि पनि सहजता हामीले खोजेका छौँ ।’  
कार्यक्रममा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अपेक्षाअनुसार वृद्धि हुन नसकेको बताउनु भयो । कृषिप्रधान मुलुक भएपनि खाद्यान्न, तरकारीलगायत कृषि उपजमा आयातमा निर्भर रहनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
कृषि क्षेत्रलाई उत्पादनशील, प्रतिस्पर्धी र आकर्षक व्यवसाय बनाउन आधुनिक यन्त्र तथा प्रविधिमा किसानको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउँदै उहाँले किसानको श्रमलाई प्रविधिले साथ दिनसके समय र लागत बचत हुनुका साथै उत्पादन तथा आम्दानी वृद्धि गर्न सकिने बताउनु भयो ।
कृषि यान्त्रीकरणमार्फत आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा समेत योगदान पुग्ने उल्लेख गर्दै रेग्मीले कृषि यान्त्रीकरणको वास्तविक सफलता किसानको श्रम सहज हुनु र आम्दानी बढ्नुमा निर्भर रहने बताउनु भयो ।
सीईओ रेग्मीले भन्नुभयो,‘कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व सोचे अनुरूप वृद्धि हुन सकिरहेको छैन । कृषिप्रधान देश नेपाल जहाँको कृषि क्षेत्रले बाध्यात्मक रूपमा रोजगारीका अवसरहरू सिर्जना गर्नु परिरहेको छ र कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान दिने भएता पनि हालसम्म उल्लेख्य मात्रामा खाद्यान्न, तरकारीलगायत अन्य कृषि उपजको आयात गर्नु परिरहेको तीतो सत्य हाम्रो सामु टड्कारो रूपमा रहेको छ । यसकारण कृषि क्षेत्रलाई अझ बढी उत्पादनशील, प्रतिस्पर्धी र आकर्षक व्यवसाय बनाउन आधुनिक यन्त्र तथा प्रविधिको पहुँच आवश्यक रहेको छ । किसानको मिहिनेतलाई प्रविधिले साथ दिन सके समय र लागतको वचतका साथै उत्पादन तथा आम्दानी बढाउन सहयोग पुग्ने मात्र नभई आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न सकिने हुँदा यस कृषि यान्त्रीकरण प्रदर्शनीको विशेष महत्त्व रहेको छ । कृषि यान्त्रीकरणको सफलता किसानको श्रम सहज हुँदा र कृषकको आम्दानी बढ्दा मात्र देखिन्छ । त्यसैले हाम्रो भूगोल र खेतबारी सुहाउँदो प्रविधिसँगै त्यसको प्रयोग गर्ने सीप र मर्मत सेवामा पनि ध्यान दिनु त्यत्तिकै जरुरी रहेको छ ।’
नेपालको भूगोल र खेतबारी सुहाउँदो प्रविधिसँगै त्यसको प्रयोग गर्ने सीप तथा मर्मतसम्भार सेवामा पनि उत्तिकै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । –न्युज एजेन्सी नेपाल