६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित

.

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष मनिष पण्डितले चलचित्र क्षेत्रको सुधार र चलचित्र हल व्यवसायीका समस्या सम्बोधन गर्न तयार पारिएको विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित नेपाल चलचित्र संघको ५२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सोमवारदेखि प्रक्रिया अघि बढाएर ६० दिनभित्र विधेयक पारित गरी सकेसम्म छिटो ऐनको रूप दिने लक्ष्य राखिएको जानकारी दिनुभएको हो । पण्डितले चलचित्र हल व्यवसायको संरक्षण, नयाँ लगानी आकर्षित गर्ने, पुराना हलहरूको आधुनिकीकरण गर्ने र व्यवसायीलाई सरकारले उपलब्ध गराउन सक्ने सहुलियतका कार्यक्रमलाई विधेयकमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको बताउनु भयो । यस विषयमा सरकारसँग पहल शुरु भइसकेको उल्लेख गर्दै उहाँले सम्बन्धित मन्त्रालयबाट समेत सहयोग प्राप्त भएको बताउनु भयो । चलचित्र हल व्यवसायीले उठाउँदै आएका समस्या र जायज मागलाई नीतिगत तहमा पु¥याएर समाधानका लागि बोर्डले समन्वय गर्ने उनको प्रतिवद्धता छ । नेपाली चलचित्र निर्माण गरेर मात्रै नहुने भन्दै पण्डितले त्यसलाई दर्शकमाझ पु¥याउने र व्यावसायिक रूपमा सफल बनाउने जिम्मेवारी चलचित्र हलहरूको पनि रहेको बताउनु भयो । नेपाली चलचित्रलाई प्रदर्शनमा प्राथमिकता दिने हल सञ्चालकलाई प्रोत्साहन गर्न यस वर्षदेखि बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार यस्तो सम्मानले नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिष्पर्धाको वातावरण निर्माण गर्नेछ  ।
पण्डितले चलचित्र संघ र चलचित्र विकास बोर्डबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक र प्रदर्शकबीच एकता र सहकार्य भए मात्रै नेपाली चलचित्र उद्योगलाई व्यावसायिक, पारदर्शी र आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । नेपाली चलचित्रलाई दर्शकमाझ पु¥याउन योगदान दिनुभएका सम्पूर्ण हल सञ्चालकप्रति धन्यवाद व्यक्त गर्दछु । चलचित्र हल व्यवसायका समस्या समाधान, पुराना हलको आधुनिकीकरण र नयाँ लगानी आकर्षित गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध छ । नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई यस वर्षदेखि विशेष सम्मान गर्ने निर्णय पनि गरेका छौँ । चलचित्रसम्बन्धी विधेयक आगामी ६० दिनभित्र पारित गरी ऐनका रूपमा अघि बढाउने लक्ष्यसहित काम गरिरहेका छौँ । हल व्यवसायीका जायज माग सम्बोधन गर्न सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछौँ । नेपाली चलचित्र क्षेत्रको विकासका लागि निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक र प्रदर्शकबीच सहकार्य र एकता आवश्यक छ । चलचित्र सङ्घको आगामी निर्वाचन तथा नयाँ नेतृत्वलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आउनुहोस्, नेपाली चलचित्र उद्योगलाई व्यावसायिक, सुदृढ र आत्मनिर्भर बनाउन मिलेर अघि बढौँ ।’
नेपाल चलचित्र संघको ५२ औँ वार्षिक साधारण सभामा उहाँले संघका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल