भारतीय विद्यार्थीको चित्रमा नेपाली कला, संस्कृति र हिमाल (तस्बिरसहित)

.

भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले आयोजना गरेको चित्रकला प्रतियोगितामा भारतीय विद्यार्थीले उल्लेख्य सहभागिता जनाएका छन् ।
नेपालका विशिष्टता, मौलिकता र सम्पदालाई चित्रमार्फत प्रश्तुत गर्ने उद्देश्यले दुतावासले रोटरी क्लव अफ दिल्ली रिसोर्सको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । नयाँ दिल्लीका १० वटा विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा उनीहरूले नेपालबारे आफूले जानेका, पढेका र खोजेका विषयलाई चित्रमा उतारेका थिए । प्रतियोगितामा विद्यार्थीहरूले भगवान बुद्ध, नेपालको राष्ट्रिय झण्डा, जीवित देवी कुमारी, पशुपतिनाथ, स्वयम्भूनाथ, हिमाल, पहाड, नेपाली गाउँघर, परम्परागत भेषभूषा तथा विभिन्न जातजातिका सांस्कृतिक पहिचानलाई चित्रमा प्रश्तुत गरेका छन् । विद्यार्थीले तयार पारेका चित्रहरू अहिले नेपाली दुतावासको मिडिया सेन्टरमा प्रदर्शनीका रूपमा राखिएका छन् । नेपाली दुतावासका सांस्कृतिक काउन्सिलर छविलाल सुवेदीकाअनुसार प्रतियोगितामा नेपाली विद्यार्थीभन्दा भारतीय विद्यार्थीको सहभागिता बढी थियो । भारतमै जन्मिएर हुर्किएका विद्यार्थीले नेपालका विभिन्न सांस्कृतिक तथा धार्मिक पक्षबारे खोजी गरेर चित्रमा उतार्नु प्रतियोगिताको विशेष पक्ष रहेको उहाँले बताउनु भयो । विद्यार्थीले शिक्षकको सहयोगमा इन्टरनेट, वेबसाइट तथा नेपालसम्बन्धी विभिन्न दस्तावेज र सामग्री अध्ययन गरेर चित्र तयार पारेको सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीले नेपालका बारेमा आफूले प्राप्त गरेको जानकारी र कल्पनालाई चित्रकलामार्फत अभिव्यक्त गरेको उहाँले भनाइ छ । प्रतियोगिता प्रतिष्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो । विद्यार्थीले तयार पारेका चित्रको मूल्याङ्कनका लागि निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा ५१ जना विद्यार्थीलाई पुरस्कृत गरिएको सुवेदीले बताउनु भयो । गत मार्च १६ मा नेपाली दुतावासमा आयोजित समारोहमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । सुवेदीकाअनुसार प्रतियोगिताको मुख्य उद्देश्य भारतीय विद्यार्थीलाई नेपालका स्थान, संस्कृति, धार्मिक आस्था, परम्परा र मौलिक पहिचानबारे जानकारी गराउनु हो । उनीहरूले नेपालका विषयमा सिक्ने, बुझ्ने र त्यसबारे आफ्ना परिवार तथा समुदायमा प्रचार गर्ने माध्यमका रूपमा प्रतियोगिता प्रभावकारी हुने उनको विश्वास छ ।
एक विद्यार्थीले नेपालबारे जानकारी पाएपछि उसको परिवार र आफन्तसम्म पनि त्यो जानकारी पुग्ने भएकाले चित्रकला प्रतियोगिताले नेपालको प्रचारप्रसारमा थप सहयोग पु¥याउने सुवेदीले बताउनु भयो । विशेषगरी भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने नेपाल सरकारको लक्ष्यमा यस्ता सांस्कृतिक गतिविधिले थप योगदान पु¥याउने उहाँको भनाइ छ । उहाँले प्रतियोगिताको शुरुवाती पहल तत्कालीन कार्यवाहक राजदुत तथा डेपुटी चिफ अफ मिसनबाट भएको जानकारी दिनुभयो । आफूले सांस्कृतिक काउन्सिलरको जिम्मेवारी सम्हालेपछि पुरस्कार वितरण तथा प्रदर्शनीको संयोजन गरेको पनि उहाँले बताउनु भयो । नेपाललाई चिनाउने अभियानमा चित्रकला प्रतियोगिताजस्ता कार्यक्रमले विद्यार्थी तहबाटै सांस्कृतिक सम्बन्ध विस्तार गर्ने र नयाँ पुस्तालाई नेपालको कला, संस्कृति तथा सम्पदासँग जोड्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल