काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा ४८ हजार ९७१ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिन आइतबार मात्रै करिब २० हजार दर्शकले अवलोकन गरेका हुन् ।
आधुनिक कृषि उपकरण, मेसिनरी तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान, कृषि उद्यमी, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारण प्रदर्शनीस्थल पुगेका थिए । तीन दिनसम्म चलेको प्रदर्शनीमा किसान तथा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको थियो ।
शुक्रबार प्रदर्शनीको पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका थिए भने शनिबार दोस्रो दिन १९ हजार ३०५ जना प्रदर्शनीस्थल पुगेका थिए । पहिलो दुई दिनमा २८ हजार ९७१ जनाले अवलोकन गरेकोमा अन्तिम दिन थप १३ हजार १७८ हजारको सहभागितासँगै तीन दिनमा कुल अवलोकनकर्ताको संख्या ४२ हजार १४९ पुगेको प्रदर्शनी संयोजक सुनिता न्हेमाफूकीले जानकारी दिइन् ।
प्रदर्शनीले किसानलाई आधुनिक कृषि प्रविधिबारे प्रत्यक्ष जानकारी लिन, विभिन्न कम्पनीका उपकरण तथा उत्पादनको तुलना गर्न र आफ्नो खेती प्रणाली तथा आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट गर्न अवसर प्रदान गरेको छ ।
सभामुख अर्याल र उद्योगमन्त्री साहद्वारा प्रदर्शनी अवलोकन
प्रदर्शनीको अन्तिम दिन सभामुख डीपी अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भृकुटीमण्डप पुगेर प्रदर्शनीको अवलोकन गरेका थिए । उनीहरूले प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपकरण, मेसिनरी तथा आधुनिक प्रविधिका स्टलमा पुगेर तिनको विशेषता, प्रयोग र उपयोगिताबारे जानकारी लिएका थिए ।अवलोकनका क्रममा उनीहरूले नेपालको कृषि क्षेत्रमा यान्त्रीकरणको अभ्यास र प्रयोग विस्तार हुँदै गएको उल्लेख गर्दै आधुनिक उपकरण तथा प्रविधिको प्रयोगले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरेका थिए ।
कृषि क्षेत्रमा श्रमिक अभाव बढ्दै गएको अवस्थामा आधुनिक मेसिनरीको प्रयोगले खेतीपातीलाई सहज बनाउनुका साथै उत्पादन लागत घटाउन र उत्पादकत्व बढाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो । परम्परागत खेती प्रणालीलाई प्रविधिमैत्री बनाउँदै कृषि उत्पादनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यान्त्रीकरणको विस्तार आवश्यक रहेको विषयमा पनि उनीहरूले जोड दिएका थिए ।
विशेषगरी नेपालको भौगोलिक अवस्था, खेतीयोग्य जमिनको प्रकृति र साना किसानको आवश्यकताअनुसार कृषि उपकरण तथा प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा थियो । स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्दै नेपाली उत्पादनको प्रयोग बढाउन सके कृषि क्षेत्रको आधुनिकीकरणसँगै औद्योगिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीको अवलोकनका क्रममा संघीय संसद्का कृषि तथा प्रकृतिक स्रोत समितिका सदस्यहरू तथा अन्य सांसदहरूले पनि विभिन्न समयमा प्रदर्शनीस्थल पुगेर कृषि उपकरण र प्रविधिबारे जानकारी लिएका थिए । जनप्रतिनिधिहरूले कृषि क्षेत्रको आधुनिकीकरण, किसानको आवश्यकता र कृषि यान्त्रीकरणको विस्तारका विषयमा चासो राखेका थिए ।
स्वदेशी उत्पादनदेखि अन्तर्राष्ट्रिय प्रविधिसम्मको प्रदर्शनी
यस वर्षको प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपेली मुलुकका कृषि उपकरण उत्पादक, वितरक, व्यवसायी तथा विभिन्न कम्पनीहरूको सहभागिता रहेको थियो । प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल राखिएका थिए भने ९२ जना प्रदर्शक सहभागी भएका थिए ।
प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी तथा उपकरण, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता (एआई), बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण प्रदर्शनमा राखिएका थिए ।
यस्तै, ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, कृषि उपज प्रशोधन र शीतभण्डारणसम्बन्धी प्रविधि पनि प्रदर्शनीका आकर्षण बनेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट खेतीपातीमा लाग्ने समय र श्रम घटाउनेदेखि कृषि उपजको प्रशोधन तथा भण्डारणसम्मका विभिन्न विकल्प प्रदर्शनीमा समेटिएका थिए ।
विशेषगरी नेपालको भौगोलिक अवस्था र साना किसानको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका कृषि उपकरणले अवलोकनकर्ताको ध्यान आकर्षित गरेका थिए । पहाडी क्षेत्रको भिरालो जमिनदेखि तराईका ठूला खेतीयोग्य फाँटसम्म प्रयोग गर्न सकिने विभिन्न प्रकारका उपकरण प्रदर्शनीमा राखिएका थिए ।
मेलामा विभिन्न जिल्लाबाट कृषकहरुले अवलोकन गर्न आएका थिए । कृषक समूह, सहकारी, जिल्ला कृषि कार्यालय र पालिकाले प्रदर्शनी अवलोकनका लागि कृषक भ्रमणमा सहजीकरण गरेको नामियामा केन्द्रीय सदस्य याम शर्माले बताए।
किसानले विभिन्न कम्पनीका उत्पादनको प्रत्यक्ष अवलोकन गर्नुका साथै उपकरणको क्षमता, विशेषता, मूल्य, प्रयोग विधि र मर्मतसम्भारसम्बन्धी जानकारीसमेत लिएका थिए । यसले किसानलाई आफूले गर्दै आएको खेती प्रणालीअनुसार उपयुक्त उपकरण छनोट गर्न र कृषि यान्त्रीकरणतर्फ आकर्षित हुन सहयोग पुगेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए ।
स्वदेशी कृषि उपकरण उत्पादकलाई विशेष प्राथमिकता
स्वदेशी कृषि उत्पादन तथा प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षको प्रदर्शनीमा नेपाली उत्पादकलाई विशेष प्राथमिकता दिइएको थियो । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।
त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीलाई समेत स्टल भाडामा ५० प्रतिशत छुट दिइएको थियो । स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगको प्रवद्र्धन, नेपाली उत्पादनको बजार विस्तार तथा विदेशी प्रविधिको निर्भरता घटाउने उद्देश्यले नेपाली उत्पादकलाई प्राथमिकता दिइएको नामियाका महासचिव अर्जुन प्रसाद लुर्इँटलले बताए ।
प्रदर्शनीमा नेपाली उत्पादकले तयार पारेका उपकरण तथा प्रविधिसँगै अन्तर्राष्ट्रिय बजारमा प्रयोग भइरहेका आधुनिक मेसिनरी पनि राखिएका थिए । यसले स्वदेशी उत्पादकलाई आफ्ना उत्पादनको बजार प्रवद्र्धन गर्ने र किसानलाई स्वदेशी तथा विदेशी प्रविधिबीच तुलना गर्ने अवसर दिएको थियो ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष शर्माले स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई सरकारले अगामी दिनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली उत्पादन तथा प्रविधिको प्रवद्र्धनसँगै विदेशी प्रविधि र उपकरणबारे किसानलाई जानकारी गराउने अवसरका रूपमा प्रदर्शनी महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
नामियाका सचिव श्रीकृष्ण अधिकारीले नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका उपकरणको प्रदर्शनीले कृषि यान्त्रीकरणको विस्तारमा सहयोग पुगेको धारणा राखेका थिए ।
कृषि प्रविधि र नीतिगत विषयमा तीन दिनसम्म छलफल
प्रदर्शनीसँगै नेपाल कृषि इन्जिनियर्स सोसाइटीको सहकार्यमा तीनै दिन विभिन्न ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास तथा नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।
पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी विभिन्न विषयमा प्रस्तुति दिएका थिए । दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे छलफल गरिएको थियो ।
त्यस्तै, अन्तिम दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, कृषि रूपान्तरण तथा नवप्रवर्तनका विषयमा प्रस्तुति र छलफल गरिएको थियो । यी कार्यक्रमले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, यसको व्यावसायिक सम्भावना र नीतिगत सुधारका विषयमा सरोकारवालाबीच विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेका थिए । अवलोकनकर्तालाई थप आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरणको व्यवस्था गरिएको थियो । प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएकोमा अन्तिम दिन बम्पर पुरस्कारका रूपमा एक जनालाई मिनी टिलर उपलब्ध गराउने कार्यक्रम राखिएको थियो ।
कृषि क्षेत्रको आधुनिकीकरण र स्वदेशी उद्योग प्रवद्र्धनमा जोड
प्रदर्शनीको मुख्य आयोजक कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका थिए । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका थिए ।प्रदर्शनीको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि रहेको छ । त्यस्तै, प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि रहेका छन् । यी कम्पनीहरूले आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धन र नेपाली किसानमाझ त्यसको पहुँच विस्तारमा सहकार्य गर्नेछन् ।
‘कृषिमा यन्त्र र प्रविधि ः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ मंसिर ४ देखि ६ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको प्रदर्शनी आइतबार सम्पन्न भएको हो । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागत र परम्परागत खेती प्रणालीका चुनौतीलाई सम्बोधन गर्न यान्त्रीकरणको आवश्यकता बढिरहेका बेला आयोजित प्रदर्शनीले किसान, कृषि उपकरण उत्पादक, व्यवसायी, प्राविधिक तथा नीति निर्माताबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको अवसर सिर्जना गरेको छ ।
कृषि यान्त्रीकरणको विस्तारमार्फत उत्पादन लागत घटाउने, श्रम अभावको समस्या न्यूनीकरण गर्ने तथा कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य प्रदर्शनीले लिएको थियो । साथै, स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगको प्रवद्र्धन, आधुनिक प्रविधि हस्तान्तरण र कृषि व्यवसायको व्यावसायिक विकासमा समेत प्रदर्शनीले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
तीन दिनसम्म चलेको प्रदर्शनीमा ४२ हजारभन्दा बढी दर्शकको सहभागिता हुनुले नेपाली किसान तथा कृषि सरोकारवालाबीच आधुनिक कृषि उपकरण र प्रविधिप्रति बढ्दो चासो देखाएको छ । किसानलाई प्रविधिसँग जोड्ने, स्वदेशी उत्पादकलाई बजार उपलब्ध गराउने र कृषि क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक संवाद अघि बढाउने उद्देश्यसहित आयोजित आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ ।