पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै धनुषामा पत्रकार महासंघको प्रदर्शन

.

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत बुधवार जनकपुरधाममा पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध जनाएका थिए । महासंघ धनुषाका अध्यक्ष पूरन साहले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेप र धरपकडविरुद्ध आन्दोलनको अन्तिम चरणका रूपमा सामुहिक गिरफ्तारीको कार्यक्रम गरिएको बताउनु भयो । उहाँले सञ्चारमाध्यमका कार्यालयअगाडि अप्रत्याशित रूपमा गाडी तेस्र्याउने, सञ्चारगृहभित्र प्रवेश गरी धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्ने जस्ता गतिविधि भइरहेको आरोप लगाउनु भयो । सञ्चारगृहमाथि सरकारले आर्थिक नाकाबन्दी लगाएको भन्दै उहाँले यस्ता गतिविधिविरुद्ध महासंघले महिनौँदेखि आन्दोलन गर्दै आएको बताउनु भयो ।
अध्यक्ष साहले आजको प्रदर्शनपछि पनि सरकार र सम्बन्धित निकायले माग सम्बोधन गर्न चासो नदेखाए महासंघले थप कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनुभयो । ‘हामीलाई गिरफ्तार गर, नभए हाम्रा माग पूरा गर’ भन्ने सन्देश दिन सामूहिक गिरफ्तारीको कार्यक्रम गरिएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल