महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र छुवाछुत अन्त्य गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा बुधवार युथ एड्भोकेसी नेपाल र एक्शन एडको आयोजनामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले राज्यका प्रत्येक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, रोजगार तथा स्वरोजगारमा महिलाको पहुँच सुनिश्चित गर्न, बालबालिकाको समावेशी र गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्न तथा महिलामाथि हुने डिजिटल हिंसा, घृणा र अनलाइन बुलिङ अन्त्य गर्न माग गरेका छन् । आयोजकले महिलाको अधिकार, समानता र सुरक्षित समाज निर्माणका लागि राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने सन्देशसहित प्रदर्शन आयोजना गरेको जनाएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल












