एआई नियमनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यकः राष्ट्रसंघ महासचिव गुटेरेस

.

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगलाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । सुरक्षा परिषद्को खुला बहसलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले एआईले अर्थतन्त्र, समाज र सुरक्षाको क्षेत्रमा तीव्र परिवर्तन ल्याइरहेको तर विद्यमान संस्थाहरूले त्यसअनुसार आफूलाई अनुकूल बनाउन नसकेको बताए । उनले एआईको सुरक्षित विकास र प्रयोगका लागि सबै देशको सहभागितामा साझा मापदण्ड, जोखिम मूल्याङ्कन तथा प्रभावकारी निगरानी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । एआई प्रणाली निर्माण गर्ने कम्पनीहरूलाई समेत जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ । गुटेरेसले अनियन्त्रित एआईका कारण विश्व शान्ति र सुरक्षामा तीन प्रमुख जोखिम देखिएको उल्लेख गरे । पहिलो, सैन्य क्षेत्रमा एआईको बढ्दो प्रयोगले युद्धलाई थप जोखिमपूर्ण बनाएको उनले बताए । गुप्तचर सूचना संकलनदेखि आक्रमणको लक्ष्य छनोटसम्मका सैन्य गतिविधिमा एआईमा आधारित प्रणालीको प्रयोग बढ्दै गएको र यसले मानव जीवनसँग जोडिएका निर्णयमा समेत प्रभाव पार्न थालेको उनको भनाइ छ । दोस्रो, एआईको प्रयोगबाट गलत सूचना तथा भ्रामक सामग्री तीव्र रूपमा फैलिरहेको उनले बताए । नक्कली आवाज र भिडियोका माध्यमबाट शान्ति प्रक्रियालाई प्रभावित पार्न, सामाजिक ध्रुवीकरण बढाउन तथा हिंसा भड्काउन सकिने जोखिम रहेको उनले औँल्याए । तेस्रो, व्यावसायिक स्वार्थ र भूराजनीतिक प्रतिस्पर्धाका कारण एआई विकासमा अनियन्त्रित होडबाजी बढेको उनले बताए । एआई सञ्चालनका लागि आवश्यक ऊर्जा, पानी, खनिज तथा औद्योगिक स्रोतसाधनको अत्यधिक मागले देशहरूबीच र समुदायभित्र तनाव बढाउन सक्ने उनको भनाइ छ । महासचिव गुटेरेसले उदीयमान प्रविधिमाथिको प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई कमजोर पार्न नदिन सुरक्षा परिषद्ले विशेष भूमिका खेल्नुपर्ने बताए । उनले एआईको विकासलाई सुरक्षित, पारदर्शी र जवाफदेही बनाउन विश्वव्यापी सहकार्य तथा बहुपक्षीय जोखिम व्यवस्थापनको संरचना निर्माण गर्न आह्वान गरे ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।