काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीमा परी ३४४ वटा कन्टेनर तथा मालवाहक ट्रक बगेका छन् । ती सवारी साधनमा मात्रै एक अर्ब १६ करोड २२ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रतिवेदनले देखाएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बाँनियाले बाढीका कारण ट्रक तथा कन्टेनर व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको बताउनुभयो । उहाँले ठूलो संख्यामा मालवाहक सवारी साधन बगाउँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको उल्लेख गर्दै क्षतिको उचित मूल्याङ्कन र प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बाढीबाट भएको क्षतिको विवरणअनुसार ३४४ वटा सार्वजनिक कन्टेनर तथा मालवाहक ट्रकमा क्षति पुगेको छ । त्यसमध्ये ३२७ वटा सवारी साधनको मात्रै आर्थिक क्षति मूल्याङ्कन गरिएको छ भने १७ वटाको क्षति रकम खुल्न बाँकी छ । मूल्याङ्कन भएका सवारी साधनको कुल क्षति एक अर्ब १६ करोड २२ लाख १९ हजार ८७५ रुपैयाँ रहेको छ ।
प्रतिवेदनअनुसार बाढीमा परी बगेका कन्टेनर तथा ट्रकको क्षति रकम प्रतिगोटा १६ लाखदेखि ७० लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । सवारी साधनतर्फ भएको कुल आर्थिक नोक्सानीमा कन्टेनर तथा मालवाहक ट्रकको हिस्सा मात्रै ८२ दशमलव ५८ प्रतिशत रहेको छ । यसले भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मालवाहक यातायात व्यवसाय रहेको देखाउँछ ।
सवारी साधनमा एक अर्ब ४० करोडभन्दा बढी क्षति
बाढीका कारण सार्वजनिक यातायातका कुल ४०९ वटा सवारी साधनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३६४ वटा सवारी साधनको क्षति रकम मूल्याङ्कन गर्दा कुल एक अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ आर्थिक नोक्सानी भएको छ । बाँकी २५ वटा सवारी साधनको क्षति रकम खुल्न बाँकी रहेकाले वास्तविक क्षति अझै बढ्न सक्ने देखिएको छ ।
कन्टेनर तथा ट्रकबाहेक ३९ वटा यात्रुवाहक तथा पर्यटक बसमा १९ करोड ८९ लाख ६१ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी मिनीबस तथा माइक्रोबसमा तीन करोड चार लाख ५० हजार, टिपरमा ८३ लाख ४६ हजार ५०० र जिप, भ्यान तथा टाटा सुमोमा ४५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीबाट यातायात क्षेत्रसँग सम्बन्धित ७८२ जना प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । प्रभावितमध्ये ५३२ जना चालक, १११ जना परिचालक तथा सहचालक, १०६ जना यात्रु र ३३ जना यातायात व्यवसायी रहेका छन् । उनीहरूमध्ये ६७६ जना बेपत्ता, ३९ जनाको मृत्यु, तीन जना घाइते र ६४ जनाको अवस्थाबारे विवरण खुल्न सकेको छैन ।
प्रतिवेदन सरकारलाई बुझाइयो, छिट्टै काम अघि बढ्ने
यसैबीच, बाढीबाट भएको क्षतिको विस्तृत विवरण समेटिएको प्रतिवेदन आज सरकारलाई बुझाइएको छ ।
प्रतिवेदनमा समेटिएका विवरणका आधारमा प्रभावित क्षेत्रको पुनःस्थापना तथा आवश्यक कार्यहरू छिट्टै अघि बढाइने बताइएकाे छ । प्रतिवेदनले बाढीबाट भएको मानवीय, आर्थिक तथा भौतिक क्षतिको अवस्था स्पष्ट पारेकाले त्यसका आधारमा आगामी कार्ययोजना कार्यान्वयन गरिने सरकारकाे भनाइ छ ।
बाढीका कारण ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ भने प्रभावित ३७ वटा पक्की पुलमध्ये ३३ वटा बगेका छन् । त्यस्तै ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा करिब पाँच हजार २०० मिटर उचाइबाट हिमचट्टान तथा हिउँको ढिस्को खस्नु र हिमनदीजन्य ठूलो पहिरो जानु भोटेकोशीमा बाढी आउनुको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बाढीले सडक तथा पुलजस्ता पूर्वाधारसँगै यातायात व्यवसाय, व्यापारिक ढुवानी र स्थानीय जनजीवनमा समेत गम्भीर असर पारेको छ । विशेषगरी ठूलो संख्यामा ट्रक तथा कन्टेनर बगाउँदा नेपाल–चीन सीमापार व्यापारमा निर्भर ढुवानी व्यवसाय प्रभावित भएको छ ।