अदालतले दोषी ठहर गरेपछि भारतका काँग्रेस नेता राहुल गान्धीले सरकारी निवास छाडे

.

काठमाडौं -भारतका काँग्रेस पार्टीका नेता राहुल गान्धीले नयाँ दिल्लीको १२, तुगलक लेनस्थित आफ्नो सरकारी निवास छाडेका छन् ।

 

मानहानीको मुद्दामा दोषी ठहर भएपछि उनले सरकार निवास पूर्णरुपमा खाली गर्दै आमा सोनिया गान्धीको घर १० जनपथमा सरेका छन् ।
मानहानी मुद्दामा दोषी ठहर भएपछि उनी सांसदकोरुपमा अयोग्य घोषित भए । अयोग्य घोषित भएको साता दिनपछि उनले सरकारी निवास छाडेका हुन् ।

 

भारतीय सञ्चार माध्यमका अनुसार राहुलले निवासको चाबी लोकसभा सचिवालयका अधिकारीलाई बुझाएका थिए । उनले सरकारी निवास छाड्दै सत्य बोल्न भने कहिले पनि नछाड्ने बताए ।

 

भारतीय जनताले आफुलाई सरकारी निवास सुम्पेको चर्चा गर्दै काँग्रेस नेता गान्धीले लोकसभा सचिवालयको सूचना अनुसार आफुले निवास छाडेको बताए ।

 

गान्धीले मोदी सबै चोर हुन भनेर दिएको अभिव्यक्तिविरुद्ध सुरतको अदालतमा मानहानी मुद्दा दायर भएको थियो । सो अदालतले उनलाई दोषी ठहर गर्दै २ बर्षको सजाय सुनाएको थियो ।