काठमाडौं – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भोलि १० बजे फेरि बस्नेगरि आजको बैठक सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा एमसीसी संसद्मा टेबल गर्ने विषयमा छलफल जुट्न नसकेको नेता श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । तर, माओवादी केन्द्रले टेबुल गर्न नहुने अडान दोहोर्याएको छ ।
आजकाे बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।
यस्तै, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता श्रेष्ठ तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए । बिहीबारको बैठकमा राष्ट्रिय जनमोर्चालाई भने बोलाइएको थिएन ।