कार्यसम्पादन मूल्यांकन : अछाममा मंगलसैन पहिलो र पञ्चदेवल अन्तिम

.

अछाम-कार्यसम्पादन मूल्यांकनका आधारमा मंगलसेन नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ७ सय ५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकनबाट तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार जिल्लाको सदरमुकाममा रहेका मंगलसेन नगरपालिका जिल्लामै पहिलो बन्न सफल भएको हो ।

 

सय अंक भारमा मंगलसेन नगरपालिकाले ७३.९९ अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो, सुदूरपश्चिम प्रदेशको ५ औँ तथा देशकै ११ औँ स्थानमा पर्न सफल भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए ।

 

यस्तै जिल्लाको दोश्रो स्थानमा मेललेख गाउँपालिकाले ७३. ६३ अंक, तेश्रोमा कमलबजार नगरपालिकाले ७१.८९ अंक प्राप्त गरेका छन् । यस्तै चौरपाटी गाउँपालिकाले ६५.४३ अंक, रामारोशन गाउँपाललका ६३.०३ अंक, बान्नीगढी जयगढ गाउँपालिका ६०.८१ अंक, ढकारी गाउँपालिकाले ६०.४८ अंक, तृर्माखाँद गाउँपालिकाले ६०.४६ अंक, साँफेबगर नगरपालिकाले ५१.८८ अंक र पञ्चदेवल बिनायक नगरपालिकाले ५१.५६ अंक प्राप्त गरेको छ । समयमै बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको, आगामी आ.वको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकन गरेको थियो ।

 

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। यहि मूल्यांकनका आधारमा आयोगले आगामी आर्थिक वर्षका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ।

कल्पना बोहरा / न्यु कारखाना