काठमाडौं–नेपाली मिडिया तथा निर्देशन क्षेत्रमा लामो अनुभव बोकेका निर्देशक फुर्वा शेर्पाको निर्देशनमा तयार भएको पञ्जाबी म्युजिक भिडियो ‘खर्चा मार दा’ हालै सार्वजनिक गरिएको छ। यो भिडियो गोल्डेन आवर फिल्म प्रोडक्सन को युट्युब च्यानलमार्फत इदको अवसर पारेर रिलिज गरिएको हो।
गीतमा पञ्जाबी गायक सरव सिंहको स्वर र संगीत रहेको छ भने शब्द बब्बी नटियानले लेखेका हुन्। फुर्वा शेर्पाले यस गीतको निर्देशन गरेका हुन्, जसमा भारतीय कलाकार कमर र मोरक्कन अभिनेत्री इस्राए जेब्बारीको अभिनय देख्न सकिन्छ।
भिडियोको छायांकन दुबईमा गरिएको हो, जसको छायांकन तथा सम्पादन नितिन चन्दले गरेका हुन्। उनले दुबईका आकर्षक लोकेसनमा अत्याधुनिक क्यामेरा, सिनेम्याटिक लाइटिङ प्रविधि तथा भिजुअल डिजाइन प्रयोग गरेर भिडियोमा प्रिमियम लुक्स प्रस्तुत गरेका छन्।
भिडियोमा विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको छ। कोरियोग्राफर सुरेश कुमार दक्षिण भारतका हुन् भने कोरस डान्सरहरू समेत अन्तर्राष्ट्रिय पृष्ठभूमिबाट छनोट गरिएको फुर्वाले जानकारी दिए।
निर्देशक फुर्वाका अनुसार भाषा फरक भएका कारण केही चुनौतीहरू आए पनि टोलीको मेहनत र संगीतको ऊर्जा सबैलाई एउटै लयमा बाँध्न सफल भयो। “संगीतको कुनै भाषा हुँदैन। गीतको भाव, लय र जोश नै यस्तो थियो, जसले सबैलाई जोड्यो,” उनले भने।
फुर्वाले यो भिडियोले आफूलाई अन्तर्राष्ट्रिय निर्देशन क्षेत्रमा चिनाउने अवसर दिएको विश्वास व्यक्त गरेका छन्। ‘खर्चा मार दा’ भिडियोले भारतीय पञ्जाबी संगीत उद्योगमा नयाँ प्रयोगका रूपमा स्वागत पाएको छ।