हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण एक दिन मात्रै हुने

.

काठमाडौं -हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको निर्धारित समय तालिका परिवर्तन भएको छ ।

 

यसअघि चैत्र १८ अर्थात भोली शुक्रबारका देखि २० गते सम्मकालाई तय गरिएको एक्स्पो चैत्र १९ गते अर्थात आउँदो शनिवार एक दिन मात्रै हुने भएको हो । बिहिबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी चैत्र १८ गते भोली घोडेजात्रा परेको र कार्यक्रम स्थल भृकृटीमण्डप वरपर सुरक्षा निकायले यातायातका साधन प्रबेशमा नियन्त्रण तथा व्यवस्थापन गर्ने देखिएकोले यस अघि तय गरिएको मिति परिवर्तन गरेको जनाएको छ ।

 

पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष मोहन कुमार डाँगीले एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउदैं यसअघिको समय परिवर्तन गरी शनिवार एक दिनका लायि मात्रै एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिनुभयो । एक्स्पोमा जलविद्युत प्रबद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बीमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामाग्रीका सप्लायरसँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ ।

 

एक्स्पोमा राखिने स्टलमध्ये आधाभन्दा बढी विदेशी हुने इप्पानका उपाध्यक्ष गर्गले जानकारी दिनुभयो । उहाँले एक्स्पोमा ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने पनि जानकारी दिनुभयो । यस्तै, यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै पावर रोबोथन ( हाइड्रोकर्न २ दशमलव शून्य) ब्याटल रोबोट्स तथा हाइड्रो पावर लाइभ डेमोन्स्ट्रेशन आकर्षण बन्नेछ । यसका साथै एक्सपोमा आएका इच्छुक अवलोकनकर्तालाई हेलीकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण समेत गराउने ब्यावस्था गरेको इपान उपाध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिनुभयो ।

News Agency Nepal