कांग्रेसलाई कसैको बैसाखी चाहिँदैन: शेखर कोइराला

.

काठमाडौं-नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।

 

बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताउनुभएको हो ।

 

उहाँले निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताउनुभयो । नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताउनुभयो ।

 

उहाँले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताउनुभयो । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उहाँले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताउनुभयो ।

News Agency Nepal