स्वास्थ्य शतर्कता अपनाउन विज्ञहरुको अपिल

.

काठमाडौं – मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष शतर्कता अपनाउन जोड दिएका छन् ।

 

जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् । अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उहाँले सचेत हुनुपर्ने बेला आएको बताउनु भयो ।

 

डा. पाण्डेले भन्नुभयो, ‘अहिलेको मौसम चेन्ज भइरहेको छ । जाडोबाट गर्मी हुँदै आइरहेको छ । पोलुशन हाई लेभलमा छ । विशेष गरेर काठमाडौंमा । यस्तो बढी बिरामीहरुलाई मार पर्ने भनेको बुढापाकाहरु जुनमा दम हुन्छ, मुटुको रोगी हुन्छ, सुगरको रोगीहरु हुन्छ, तिनीहरुलाई बढी असर पारेको छ । तिनीहरुको श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया, हुने लगायतका समस्या देखिरहेका छन् । वृद्धवृद्धाहरु, बालबालिका, गर्भवती महिलाहरुमा इम्युन कमी हुन्छ । यस्तो मान्छेलाई मौसम परिवर्तनका कारण झाडापखाला, जस्ता धेरै रोग लाग्ने चान्स हुन्छ । यस्तो मान्छेलाई सकेसम्म खानेकुरामा ध्यान दिनुपर्छ । पोलुशनहरुमा नहिँड्ने । पानी तताएर खाने, बाहिरको खाना सकेसम्म नखाने । प्रेसर,सुगरका बिरामीहरुले औषधि नियमित सेवन गर्ने गर्नुपर्छ ।’

 

डा. पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकुल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताउनु भयो । पछिल्लो समय नेपालको काठमाडौंसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यवद्र्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो ।

News Agency Nepal