नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

.

काठमाडौं- आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा आसन्न नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गर्नु भएको हो ।

 

लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नु भएको हो । लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नु भयो । त्यस्तै मस्कट डिजाइन गरेवापत उहाँले २५ हजार नगद प्राप्त गर्नु भयो । लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरेको थियो । सोही कार्यक्रममा सो खेलकुद प्रतियोगिताको नारा समेत सार्वजनिक गरिएयो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ ।

 

नारा सुयोग्य राज काफ्लेले रचना गर्नु भएको थियो । नारा बनाउने काफ्लेलाई १० हजार प्रदान गरियो । सिंगो राष्ट्रलाई खेलकुदको माध्यामबाट एकतावद्ध बनाउने सन्देशसहित सो प्रतियोगिताको नारा, मस्कट र लोगो सार्वजनिक गरिएको भन्दै त्यसका डिजाईनकर्ताहरु सुयोग्यराज काफ्ले र भोलानाथ पौडेललाई मन्त्री गहतराजले धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सो खेलकुद प्रतियोगिताका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको जानकारी दिनुभयो ।